



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता कायम गर्न आफूले निरन्तर प्रयास गरिरहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘पार्टी मिलाउने प्रयासै भएन’ भन्ने आरोपप्रति असन्तुष्टि जनाएका हुन् ।
थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि अहिलेको केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई सम्मानजनक ढंगले समेट्न आफू तयार रहेको बताए । ‘जो नेता पार्टीभित्र सक्रिय भूमिका चाहनुहुन्छ, उहाँहरूलाई उपयुक्त जिम्मेवारीसहित सँगै राखेर काम गर्न चाहन्छु,’ उनले भने ।
विशेष महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै उनले प्रेमबहादुर खड्काको नेतृत्वमा निर्वाचन समिति गठन भएको र त्यसमा थप प्रतिनिधित्व आवश्यक भए छलफल गर्न आफू खुला रहेको बताए । सदस्यता जाँचबुझ समिति र अनुशासन समितिमा पनि निष्पक्षता सुनिश्चित गर्न आवश्यक परे थप सदस्य राख्न सकिने उनको भनाइ थियो ।
थापाले पार्टीभित्र अवसर वितरण महाधिवेशनको आधारमा नभई क्षमता र आवश्यकताका आधारमा हुने स्पष्ट पारे । प्रदेश सरकार, संसदीय दल, स्थानीय तह वा भ्रातृ संस्थामा हुने निर्णय कुनै गुट वा पृष्ठभूमिको आधारमा नहुने उनले बताए ।
पार्टी एकताका लागि आफू सार्वजनिक मञ्चदेखि बन्द कोठासम्म संवादमा जुटिरहेको उल्लेख गर्दै थापाले भने, “अझ बढी निहुरिएर, हात जोडेरै पनि नेताहरूलाई सँगै आउन आग्रह गरेको छु । तर अझै प्रयासै भएन भनिन्छ । अब के गर्दा प्रयास भएको मानिने हो ?”
गगन थापा



