Logo
७ जेठ २०८३, बिहीबार

सहकारी निर्वाचनमा दलीय प्यानल नबनाउन विभागको निर्देशन

अक्षरपाटी
२०८३ जेठ ७ , बिहीबार ११:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय सहकारी बैंक लगायत विभिन्न सहकारी संघ–संस्थाहरूको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरूको दलीय प्यानल खडा गरी प्रतिस्पर्धा भइरहेको समाचारप्रति सहकारी विभागले ध्यानाकर्षण भएको जनाएकाे छ।

विभागले एक विज्ञप्ति जारी गर्दै सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत हुने यस्ता गतिविधिले सहकारी ऐन, २०७४ को प्रस्तावना तथा कानुनी व्यवस्थामाथि प्रतिकूल असर पार्ने उल्लेख गरेको छ।

सहकारी बैंकलगायत सँस्थामा गरिने दलीय राजनीतिले सहकारी सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने र सहकारी क्षेत्रमा सुशासन कायम गर्न नकारात्मक प्रभाव पार्ने जनाउँदै विभागले दलीय राजनीति नगर्न भनेको छ।

विभागले सहकारीको मर्म र सिद्धान्तअनुसार सञ्चालन हुने वातावरण निर्माण गर्न यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएको छ।

साथै, सहकारी क्षेत्रमा सुशासन कायम गराउने कार्यमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।

सहकारी विभाग

ट्रेन्डिङ ( साप्ताहिक )