Logo
२७ जेठ २०८३, बुधबार

सुदूरपश्चिम–लुम्बिनीमा हिटवेभ, काठमाडौंमा मेघगर्जनसहित पानी पर्ने अनुमान

अक्षरपाटी
२०८३ जेठ ११ , सोमबार १०:०५ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तातो दिन तथा तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अत्यधिक गर्मी रहनेछ भने तराई क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना छ। दिपायल, धनगढी र नेपालगञ्जमा गर्मी अत्यधिक बढ्ने अनुमान गरिएको छ।

दिपायलको अधिकतम तापक्रम आज ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ भने धनगढी र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्ने विभागले जनाएको छ।

यस्तै सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही र रुपन्देहीको भैरहवामा पनि तातो दिन रहने पूर्वानुमान गरिएको छ। भैरहवाको तापक्रम ३८ देखि ४०, वीरेन्द्रनगरको ३७ देखि ३९ तथा घोराहीको ३६ देखि ३८ डिग्री सेल्सियस रहने अनुमान छ।

विभागले यसअघि नै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लामा तातो दिन र तातो हावाको लहरबारे चेतावनी जारी गरिसकेको छ।

यता काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका विभिन्न स्थानमा भने मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो काठमाडौं, पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङ क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्रमा रातिको समयमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रुपन्देहीको भैरहवामा भने आज राति आंशिक बदली रहने भए पनि वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ।

मौसमविद विनोद पोखरेलका अनुसार आजदेखि पूर्वी क्षेत्रमा वर्षाको मात्रा बढ्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षा समेत हुन सक्छ। अर्का मौसमविद उज्ज्वल उपाध्यायले काठमाडौं उपत्यका र पूर्वी क्षेत्रमा अपराह्नपछि वर्षा हुने सम्भावना रहेको बताएका छन्।

तर पश्चिम नेपालमा तत्काल वर्षाको सम्भावना नरहेकाले गर्मी अझै केही दिन बढ्न सक्ने मौसमविदहरूको अनुमान छ। उनीहरूले अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

मेघगर्जनसहित पानी