



o रवि लामिछाने
o सन् २०२६ को यो क्षण नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दशकौँयताकै सबैभन्दा अनुकूल अवसर ।
o राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल–भारत सम्बन्धको सम्पूर्ण भाष्यलाई भूराजनीतिक तनावबाट हटाएर विकास कूटनीतिमा केन्द्रित गर्न चाहन्छ।
o हामी सार्वभौम सन्धिहरू र जनस्तरका सम्बन्धद्वारा जोडिएका छौं, तर विगतका नेताहरूका गोप्य समझदारी र साना राजनीतिक सौदाबाजीबाट मुक्त छौं।
o भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध हिमालय र गङ्गाजत्तिकै प्राचीन रहेको उल्लेख गर्दै सीमाना अवरोध होइन, पुल बन्नुपर्छ भन्ने साझा दृष्टिकोण प्रस्तुत गरेका थिए।
o परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अतिराष्ट्रवादी भाषणप्रति हामी असहमत छौं। हाम्रो विकल्प भनेको प्रमाणमा आधारित संवाद र चुनावी स्वार्थभन्दा माथि उठेको व्यवहारिक कूटनीति हो।
० रवि लामिछाने
केवल चार वर्षभन्दा कम अवधिमा गैरदलीय पेशाकर्मी र राजनीतिक रूपमा नयाँ व्यक्तिहरूद्वारा स्थापित एउटा राजनीतिक दलले संसदमा करिब दुई तिहाइ बहुमत हासिल गर्नु र विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री निर्वाचित गराउनु राजनीतिक इतिहासको सामान्य घटना होइन। त्यसैले नेपालमा के भइरहेको छ र देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने विषयमा विश्वव्यापी चासो हुनु स्वाभाविक हो। १,००० माइलभन्दा लामो खुला सीमाना साझा गर्ने छिमेकी राष्ट्र भारतमा यस्तो जिज्ञासा झनै स्वाभाविक छ।
नेपालको यो रूपान्तरणको कथा सडक हिंसा, सैनिक ‘कू’, विदेशी हस्तक्षेप वा संवैधानिक शून्यताबाट लेखिएको होइन। बरु यो शान्तिपूर्ण, लोकतान्त्रिक र मतपेटिकामार्फत सम्पन्न भएको ‘मतपत्र क्रान्ति’ हो।
आज विश्वका धेरै समाजहरू ध्रुवीकरण, राज्यप्रतिको अविश्वास र भ्रष्ट राजनीतिक संस्कृतिबाट प्रभावित भइरहेका बेला तथा गैरलोकतान्त्रिक विकल्पतर्फ आकर्षित भइरहेका बेला नेपालले लोकतन्त्र अझै पनि बहुलवादी समाजमा परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्छ भन्ने प्रमाणित गरेको छ।
आजको नेपाल अनिश्चित भविष्यतर्फ होइन, समृद्ध, सशक्त र जीवन्त लोकतन्त्रको महत्वाकांक्षी यात्रातर्फ अघि बढिरहेको छ। हाम्रो मूल सिद्धान्त सरल छ—अडिग सुशासन, जनताप्रतिको प्रत्यक्ष जवाफदेहिता र विकासमार्फत परिवर्तन।
नयाँ राजनीतिक यथार्थ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका लागि नयाँ राजनीतिक यथार्थ हो। यो एउटा युवा शक्ति हो, जसले जर्जर र जकडिएको राजनीतिक संरचनालाई चुनौती दिएको छ। यसले युवा पुस्तालाई परिणाममुखी राजनीतिमा सहभागी गराउँदै देशका लागि फरक दृष्टिकोण प्रस्तुत गरेको छ।
हामीलाई थाहा छ कि रास्वपाले प्राप्त गरेको मत आक्रोश र आशा दुवैको मिश्रण हो, जसले परिवर्तनका लागि अभूतपूर्व जनादेश प्रदान गरेको छ। यही कारणले युवा, समावेशी र निष्कलंक प्रतिभाहरू निर्वाचित हुन सफल भए।
आज हाम्रो विदेश नीतिलाई रूपान्तरण गर्न आवश्यक सबैभन्दा ठूलो सम्पत्ति हामीसँग छ—हामी अतीतका बोझबाट मुक्त छौं। पुराना वैमनस्यता र कटुताले हामीलाई बाँधेका छैनन्। हामी सार्वभौम सन्धिहरू र जनस्तरका सम्बन्धद्वारा जोडिएका छौं, तर विगतका नेताहरूका गोप्य समझदारी र साना राजनीतिक सौदाबाजीबाट मुक्त छौं।
हामी भारत र विश्वलाई खुला हृदय, स्पष्ट दृष्टि र पारदर्शी उद्देश्यका साथ हेर्छौं— नेपालको आर्थिक रूपान्तरण।
नेपाल र भारत केवल दुई देश मात्र होइनन्; हामी एउटै गौरवशाली र प्राचीन सभ्यताका साझेदार हौं। जनकपुर र अयोध्याबीचको सम्बन्धबिना रामकथाको पूर्णता सम्भव छैन। पशुपतिनाथ र केदारनाथको आध्यात्मिक सम्बन्धबिना आस्थाको परिपूर्णता सम्भव छैन। लुम्बिनी र बोधगयाको सम्बन्धबिना महान सभ्यताको मूल आधार अधुरो रहन्छ।
तर हामीसँग आत्मसन्तुष्टिको विलासिता छैन, न त पुराना नाराहरूको आडमा आफ्ना कमजोरी लुकाउने इच्छा नै। हामी केवल विगतका उपलब्धिहरू हेर्न चाहँदैनौं; बरु सम्बन्धले हासिल गर्न सक्ने सम्भावना र भविष्यका अवसरहरूमा केन्द्रित भएर नयाँ सुरुआत गर्न चाहन्छौं।
सीमाना मात्र होइन, अर्थतन्त्र जोडौं
जब हामी सीमापार भारततर्फ हेर्छौं, हामी आफूलाई नयाँ ढंगले पुनःपरिभाषित गरेको भारत देख्छौं। विगतका दशकहरूमा भारतले प्रशासनिक जटिलताबाट मुक्त हुँदै विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्रमध्ये एक बन्न सफलता हासिल गरेको छ। यो उपलब्धिप्रति हाम्रो सम्मान छ र त्यसैले हामी विकासका साझेदार बन्न चाहन्छौं।
भारत दैनिक करिब १५ किलोमिटर रेलमार्ग विस्तार गर्दै विश्वस्तरमा रेल पूर्वाधार विकासको अग्रपङ्क्तिमा छ। यस्तो अवस्थामा प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग केवल १५० किलोमिटरभन्दा कम दूरीको परियोजना हो। त्यो रेलमार्ग पूरा हुने दिनले व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ। नेपाल केवल सीमाना जोड्न चाहँदैन; ती रेलमार्गले सम्पूर्ण अर्थतन्त्रलाई गतिशील बनाओस् भन्ने चाहन्छ।
हामी केवल नयाँ दिल्लीतर्फ मात्र हेर्दैनौं, भारतका विभिन्न राज्यहरूमा भइरहेको तीव्र विकासलाई पनि नजिकबाट नियालिरहेका छौं।
भारतको उड्डयन क्षेत्रको उल्लेखनीय प्रगति हामीले देखेका छौं। के पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुसम्म प्रत्यक्ष हवाई सेवा सञ्चालन गर्न सकिँदैन? आन्ध्र प्रदेश र तेलङ्गानाले निर्माण गरेको सूचना प्रविधि इकोसिस्टमबाट प्रेरणा लिँदै काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर निर्माण गर्न सकिँदैन? गुजरातको औद्योगिक पूर्वाधारले नेपाल–भारत सीमाक्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न प्रेरणा दिन सक्दैन?
हामी नेपालमा भारतीय प्राविधिक शिक्षण संस्था (IIT) र अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) जस्ता प्रतिष्ठित संस्थाहरू स्थापना भएको हेर्न चाहन्छौं।
आज नेपालले भारतका आईटी कम्पनी, स्टार्टअप इकोसिस्टम र विश्वविद्यालयहरूलाई आत्मविश्वासका साथ भन्न सक्छ—’हामीलाई नवप्रवर्तनका साझेदार बनाउनुहोस्। नेपालमा अनुसन्धान प्रयोगशाला, इन्क्युबेसन सेन्टर र प्रविधि केन्द्र स्थापना गर्नुहोस्।’
हामी आफ्ना प्रतिभाशाली युवाहरू, स्वच्छ ऊर्जाका स्रोत र विकसित हुँदै गएको डिजिटल इकोसिस्टमप्रति गर्व गर्छौं। तर भारतको परिपक्व प्रविधि वातावरणसँगको सहकार्यले यी सम्भावनाहरूलाई नयाँ उचाइमा पुर्याउन सक्छ। हामी डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल प्लेटफर्महरूमा सहकार्य गर्न चाहन्छौं।

विकास कूटनीतितर्फको परिवर्तन
राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल–भारत सम्बन्धको सम्पूर्ण भाष्यलाई भूराजनीतिक तनावबाट हटाएर विकास कूटनीतिमा केन्द्रित गर्न चाहन्छ। हाम्रो प्राथमिकता कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक साझेदारीका सक्रिय केन्द्रका रूपमा विकास गर्नु हो।
हामी यस्तो सम्बन्ध चाहन्छौं जसको प्रत्यक्ष लाभ दुवै देशका सामान्य नागरिकको दैनिक जीवनमा देखियोस्।
नेपालको जलविद्युत् क्षमता अब केवल घरेलु सम्पत्ति मात्र होइन, यो भारतको औद्योगिक विकासलाई ऊर्जा प्रदान गर्न सक्ने स्वच्छ र हरित स्रोत हो। अब टुक्रे व्यापारिक अभ्यासबाट एकीकृत ऊर्जा बजारतर्फ अघि बढ्न आवश्यक छ।
टमाटरको मूल्य वा औद्योगिक मेसिनरीको आवतजावत प्रशासनिक जटिलताले निर्धारण गर्ने अवस्था अन्त्य हुनुपर्छ। आधुनिक डिजिटल एकीकृत जाँच चौकी (ICP) र उन्नत पारवहन मार्गहरूले सीमालाई अवरोध होइन, पुलमा रूपान्तरण गर्नुपर्छ।
हिमालदेखि जनकपुर, लुम्बिनी र बोधगयासम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू परस्पर निर्भर छन्। विश्वभरका पर्यटकहरूले प्रशासनिक झन्झटबिना साझा सांस्कृतिक सम्पदाको अनुभव गर्न सक्ने पर्यटन सर्किट निर्माण गर्नुपर्छ।
हालै अहमदाबादमा सम्पन्न आईपीएल फाइनल हामीले केवल हेरेका मात्र छैनौं, नेपाली खेलाडी र नेपाली रंगशालालाई आईपीएल संरचनामा कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि गम्भीर रूपमा सोचिरहेका छौं।
विश्वासको आधार निर्माण
कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापनलगायत थुप्रै क्षेत्रमा सहकार्यका सम्भावना छन्। तर यी सबैको आधार भनेको पारस्परिक विश्वास हो।
हामी मूलभूत विषयहरूलाई बेवास्ता गरेर सच्चा मित्रता निर्माण गर्न सक्दैनौं। हाम्रो सम्बन्ध हजारौं वर्ष पुरानो सभ्यतागत सम्बन्ध हो। त्यसैले पछिल्ला दशकमा उत्पन्न भएका विवादहरूलाई अनिश्चितकालसम्म लम्ब्याउनु हुँदैन। ऐतिहासिक तथ्य, आपसी समझदारी र व्यावहारिक दृष्टिकोणका आधारमा तिनको समाधान सम्भव छ।
परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अतिराष्ट्रवादी भाषणप्रति हामी असहमत छौं। हाम्रो विकल्प भनेको प्रमाणमा आधारित संवाद र चुनावी स्वार्थभन्दा माथि उठेको व्यवहारिक कूटनीति हो।
स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सीमाको प्राकृतिक सुरक्षा कवच हो। विपरीत रूपमा, राजनीतिक रूपमा अस्थिर नेपालले भारतलाई पनि असुरक्षाको अनुभूति गराउँछ। त्यसैले नेपालको आर्थिक विकास भारतका लागि पनि रणनीतिक आवश्यकता हो।
ऐतिहासिक अवसर
इतिहासले कसैलाई असीमित अवसर दिँदैन, यसले सीमित समयका लागि मात्र अवसरको ढोका खोल्छ। सन् २०२६ को यो क्षण नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दशकौँयताकै सबैभन्दा अनुकूल अवसर हो।
विगत ३० वर्षको अस्थिरता र भ्रष्टाचारले चिनिएको नेपाल अब इतिहास बनिसकेको छ। आज हामीसँग सचेत युवा मतदाताहरूको बलियो जनादेश छ, जसले राजनीतिक सम्झौताभन्दा परिणाममुखी नेतृत्वलाई रोजेका छन्। हामी नीति निरन्तरता, पारदर्शिता र इमानदारीप्रति प्रतिबद्ध छौं।
रास्वपाको नेतृत्व तयार छ, किनकि नेपालका जनता तयार छन्। आउनुहोस्, विगतका आशंकाले होइन, साझा भविष्यका असीम सम्भावनाले परिभाषित हुने साझेदारी निर्माण गरौं।
नेपाल–भारत सम्बन्धलाई पुनर्जीवित गर्ने सन्दर्भमा हामीसँग एउटा महत्वपूर्ण ऐतिहासिक सन्दर्भ छ—३ अगस्ट २०१४। त्यस दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संसदलाई सम्बोधन मात्र गरेनन्, नेपाली जनतासँग प्रत्यक्ष संवाद पनि गरे।
उनले नेपाल–भारत सम्बन्ध हिमालय र गङ्गाजत्तिकै प्राचीन रहेको उल्लेख गर्दै सीमाना अवरोध होइन, पुल बन्नुपर्छ भन्ने साझा दृष्टिकोण प्रस्तुत गरेका थिए।
त्यसयता बागमती र गङ्गामा धेरै पानी बगिसकेको छ। नदीहरूले पहाडसँग सम्झौता गर्दैनन्, तिनीहरू आफ्नै बाटो बनाउँछन्। हामी पनि त्यही गर्नेछौं।
हामीसँग विश्वास र आत्मीयताले भरिएको त्यो सम्बन्ध पुनःस्थापित गर्नुको विकल्प छैन। र हामी अवश्य फर्किनेछौं—पूर्ण इमानदारीका साथ, साझा सम्भावनालाई साकार पार्ने र पुराना मतभेदहरूलाई अन्त्य गर्ने पुल निर्माणको पहिलो ढुङ्गा बोकेर।
(रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नेपालका पूर्व उपप्रधानमन्त्री हुन्। प्रस्तुत विचारहरू भारतीय अखबार Hindustan Times मा प्रकाशित छ। उनका निजी धारणा नेपालीमा भावानुवाद गरिएको हो।)
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी


