Logo
२० जेठ २०८३, बुधबार

महानगर यातायातले थप्यो १६ नयाँ विद्युतीय बस

अक्षरपाटी
२०८३ जेठ २० , बुधबार ११:०६ मा प्रकाशित

काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै काठमाडौंको चक्रपथ क्षेत्रमा १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सञ्चालनमा आएका यी बससँगै कम्पनीको विद्युतीय सार्वजनिक यातायात सेवा थप सशक्त बनेको छ।

३३ सिट क्षमताका अत्याधुनिक बसहरूमा उभिएर यात्रा गर्ने यात्रुसहित एकैपटक करिब ७० जनासम्मले यात्रा गर्न सक्ने व्यवस्था गरिएको छ। यात्रुको सुविधा र सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएका यी बसमा आधुनिक प्रविधि र आरामदायी सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

चीनबाट आयात गरिएका यी बसहरू शशिला मोटर्स प्रालिले नेपाल भित्र्याएको हो। १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको बसले एकपटक पूर्ण चार्ज गर्दा करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छ। प्रत्येक बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ।

नयाँ बसहरूको शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारीसाधन अबको अपरिहार्य आवश्यकता बनिसकेको बताए। प्रारम्भिक लगानी तुलनात्मक रूपमा बढी भए पनि दीर्घकालीन रूपमा विद्युतीय बस सञ्चालन आर्थिक र व्यावसायिक दृष्टिले लाभदायक रहेको उनको भनाइ थियो।

उनले सरकारले विद्युतीय सवारी प्रवर्द्धनका लागि थप सहुलियतका नीति ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै ५० युनिटभन्दा बढी विद्युत् खपतमा लाग्ने करमा विद्युतीय सवारी सञ्चालकलाई छुटको व्यवस्था गर्न आग्रह गरे।

महानगर यातायातका सञ्चालक समिति सदस्य धर्मराज रिमालले गत वर्ष सञ्चालनमा ल्याइएका १२ वटा विद्युतीय बसको सकारात्मक अनुभवपछि थप १६ वटा बस सेवा विस्तार गरिएको जानकारी दिए। उनका अनुसार सञ्चालन खर्च कम, मर्मतसम्भार सहज र प्राविधिक झन्झट न्यून भएकाले विद्युतीय बस डिजेल बसको तुलनामा बढी प्रभावकारी सावित भएका छन्।

हाल महानगर यातायातले चक्रपथ क्षेत्रसँगै चन्द्रागिरि–थानकोट हुँदै बनेपा र धुलिखेलसम्म सेवा सञ्चालन गर्दै आएको छ। आगामी दिनमा यात्रुको माग र आवश्यकताअनुसार विद्युतीय बसको संख्या थप विस्तार गर्ने कम्पनीको योजना रहेको जनाएको छ।

कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा ले नेपालमा ठूला आकारका विद्युतीय बसको प्रयोग र प्रवर्द्धन समयको आवश्यकता भएको बताए। उनले गुणस्तरीय बिक्रीपछिको सेवा र व्यावसायिक विद्युतीय सवारीसाधनमार्फत नेपालमा हरित यातायात विस्तारमा कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे।

महानगर यातायात विद्युतीय बस