



कञ्चनपुर । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालले सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक, पर्यटकीय तथा पूर्वाधार क्षेत्रको अवलोकन गरेका छन्।
आजदेखि कैलालीको टिकापुरमा दुई दिनसम्म चल्ने ‘उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन’का लागि सुदूरपश्चिम पुगेका सभामुख अर्यालले अवलोकन भ्रमण गरेका हुन्।
यस क्रममा उनले कञ्चनपुरस्थित भक्केनी धाम, ब्रह्मदेव क्षेत्र, टनकपुर नाका तथा प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको निरीक्षण गरेका छन्। भ्रमणमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारीलगायतको सहभागिता थियो।
अवलोकनका क्रममा टोलीले नेपाल–भारत व्यापार तथा पारवहनलाई थप सहज बनाउन प्रस्ताव गरिएको सुख्खा बन्दरगाहको सम्भावना, सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि तथा पूर्वाधार विकासका विषयमा जानकारी लिएको थियो।

साथै ब्रह्मदेव र टनकपुर क्षेत्रको धार्मिक तथा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे पनि छलफल गरिएको थियो।
यसैक्रममा सभामुख अर्यालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समेत भ्रमण गरेका छन्। महेन्द्रनगर विमानस्थलको निरीक्षणका क्रममा उनले विमानस्थलको स्तरोन्नति, नियमित हवाई सेवा विस्तार तथा क्षेत्रीय विकासमा यसको भूमिकाबारे सरोकारवालासँग छलफल गरेका छन्।
सभामुख अर्यालले सुदूरपश्चिम प्रदेशको आर्थिक, पर्यटन तथा पूर्वाधार विकासका लागि यातायात र हवाई सेवाको विस्तार आवश्यक रहेको उल्लेख गर्दै सम्भावनाहरूको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

भ्रमणकै क्रममा उनले कैलालीको टीकापुर नगरपालिका–७, सत्तीस्थित पद्म प्रकाशेश्वर महादेव मन्दिरमा पुगेर दर्शन तथा अवलोकन गरेका छन्। उक्त मन्दिरमा नेपालकै सबैभन्दा ठूलो तथा विश्वमै दुर्लभ मानिने पूर्वाभिमुख प्राचीन शिवलिङ्ग रहेको विश्वास गरिन्छ।




