Logo
८ असार २०८३, सोमबार

नेपाल अझै सम्पत्ति शुद्धीकरणको खैरो सूचीमै

अक्षरपाटी
२०८३ असार ८ , सोमबार ११:०६ मा प्रकाशित

काठमाडाैं। नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)बाट बाहिर निस्कन सकेको छैन।

फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई खैरो सूचीमै निरन्तरता दिएको हो।

एफएटीएफले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ।

यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा परेको थियो। सन् २०१२ मा नेपाल झण्डैझण्डै ब्ल्याक लिस्टमा परेको थियो।

त्यसबेला अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा हामी सुधार गराउँछौं, ब्ल्याकलिस्ट नराख भन्दै प्रतिबद्धता गरेपछि त्यसबेला नेपाल जोगिएको थियो। सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट स्तरोन्नति भएको थियो।

एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो।

एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गर्ने गर्छ।

एफएटीएफले नेपाललाई खैरो सूचीबाट बाहिर निस्किन कानुन कार्यान्वयन, वित्तीय अनुगमन प्रणली, जोखिमयुक्त क्षेत्र नियन्त्रण लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिएको छ।

वर्तमान बालेन शाह नेतृत्वको सरकारले सम्पत्ति सुद्धिकरण, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउँदै आएको छ।

उनले आइतबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका अवसरमा बाेल्दै विगतका गल्ती बदमासी सुधार्न बदमासी गर्ने जुनसुकै निकाय र व्यक्तिलाई नछाेड्ने बताएका थिए।

एफएटीएफ ग्रे लिस्ट