Logo
११ असार २०८३, बिहीबार

स्थानीय र संघीय सरकारको आश्वासनपछि इलामका चिया उद्योग पुनः सञ्चालनमा

अक्षरपाटी
२०८३ असार ११ , बिहीबार ०५:०६ मा प्रकाशित

विराटनगर । भारतीय पक्षबाट नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकास्थित चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।

निर्यात रोकिएपछि उत्पादन भएको चिया भण्डारण गर्न र किसानलाई भुक्तानी गर्न समस्या भएको भन्दै सूर्योदयका ५३ वटा चिया उद्योगले असार १ गतेदेखि उद्योग बन्द गरेका थिए।

तर स्थानीय तह र संघीय सरकारले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरूले उद्योग सञ्चालनमा ल्याउने र किसानबाट हरियो चियापत्ती खरिद पुनः सुरु गर्ने निर्णय गरेका हुन्।

सूर्योदय अर्थोडक्स चिया उत्पादक संघका अनुसार स्थानीय तहसँग भएको वार्ता तथा चिया क्षेत्रको समस्या समाधान गर्न संघीय सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलको आश्वासनपछि उद्योग खोल्ने निर्णय गरिएको हो।

संघका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूद्वारा जारी विज्ञप्तिमा चिया उद्योग, किसान र श्रमिकका समस्याको दीर्घकालीन समाधान खोज्न कार्यदल गठन भएको तथा स्थानीय तहले देखाएको सक्रियताले उद्योग सञ्चालनको वातावरण बनेको उल्लेख गरिएको छ।

संघले आगामी दिनमा गुणस्तरीय तथा विषादीरहित अर्थोडक्स चिया उत्पादनमा विशेष जोड दिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन वृद्धि गर्ने जनाएको छ। साथै वैकल्पिक अन्तर्राष्ट्रिय बजारको खोजी र विस्तारका लागि समेत पहल गरिने विज्ञप्तिमा उल्लेख छ।

यसअघि सूर्योदय नगरपालिकाले उत्पादन भएको चिया भण्डारणका लागि गोदाम उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। उद्योगीहरूले निर्यात अवरोधका कारण चिया भण्डारण र किसानलाई भुक्तानी गर्न समस्या भएको भन्दै उद्योग बन्द गरेका थिए।

इलाम चिया उद्योग