Logo
१८ असार २०८३, बिहीबार

गोरखापत्रको महाप्रबन्धकमा हिक्मतबहादुर रावल

अक्षरपाटी
२०८३ असार १८ , बिहीबार ०७:०७ मा प्रकाशित

काठमाडाैं। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले रावललाई संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

डडेल्धुरामा जन्मिएर कैलाली कर्मथलो बनाएका रावललाई सञ्चारमन्त्रालयको सिफारिसमा गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आवेदन दिएका ३५ जनामध्येबाट रावल १० जनाको सूची परेका थिए।

लामो समयदेखि पत्रकारितामा सक्रिय रावलको जन्म डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा भएको हो।

उनी पछिल्लो समय कैलालीको धनगढीमा बसोबास गर्दै सोही क्षेत्रमा रहेर देशका विभिन्न मुलधारमा मिडिया हुँदै बिबिसी नेपाली सेवासम्म कार्यरत हुन पुगेका पत्रकार हुन्।

विगत चार वर्षदेखि बिबिसी नेपाली सेवामा कार्यरत रावलले ग्यालेक्सी फोरके, न्यूज २४ र एभिन्युज टेलिभिजनमा प्रदेश प्रमुखका रूपमा काम गरेका थिए। पत्रकारिता क्षेत्रमा सक्रिय उनीसँग स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा संवाददाता, क्षेत्रीय प्रमुख र सम्पादक भएर २५ वर्षसम्म काम गरेको अनुभव छ ।

आमसञ्चार तथा पत्रकारिता र समाजशास्त्रमा स्नातकोत्तर गरेका रावलले अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन्। मिडिया अध्ययन र अनुसन्धानमा सक्रिय उनीसँग नेपाल भारत पत्रकार सङ्घको अध्यक्षका रूपमा सात वर्ष काम गरेको अनुभव छ।

त्यसैगरी सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ।

मन्त्रीपरिषद् बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्‍मा पेस गर्न स्वीकृति दिएको छ। बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई सरुवा गरेको छ।

गोरखापत्र हिक्मतबहादुर रावल

ट्रेन्डिङ ( साप्ताहिक )