Logo
२२ असार २०८३, सोमबार

दिगो बैंकिङको पाँच वर्ष : नबिलले रोप्यो २०० एभोकाडो, ‘नबिल ग्रिन विक २०२६’ समापन

अक्षरपाटी
२०८३ असार २२ , सोमबार ०५:०७ मा प्रकाशित

नबिल ग्रिन विक समापनसँगै वृक्षारोपण, नवीकरणीय ऊर्जा, कृषि, महिला उद्यम र एमएसएमईमा ठूलो लगानी; १.१२ लाखभन्दा बढी रोजगारी सिर्जना भएको दाबी

काठमाडौँ । नबिल बैंक लिमिटेडले दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको ‘नबिल ग्रिन विक २०२६’ आइतबार वृक्षारोपण कार्यक्रमसहित सम्पन्न गरेको छ।

साताव्यापी अभियानको समापनका अवसरमा काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपिएको बैंकले जनाएको छ।

बैंकका अनुसार नबिल बैंक र लुम्बिनी वर्ल्ड पिस फोरम नेपालको सहकार्यमा आयोजित कार्यक्रममा टोखा नगरपालिका–२ वडा कार्यालयले बिरुवाको संरक्षण गर्ने जिम्मेवारी लिएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली, बैंकका कर्मचारी, स्थानीय बासिन्दा तथा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

सिइओ ज्ञवालीले दिगो बैंकिङप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउँदै बिरुवा रोपेर मात्रै नपुग्ने, त्यसको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक हुने बताए।

उनले वातावरण संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार, साझेदार संस्था र समुदायसँगको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै सहभागीलाई धन्यवाद दिए।

बैंकका अनुसार ‘मानिस, पृथ्वी र समृद्धि’को अवधारणामा आधारित नबिलको दिगो बैंकिङ अभियानले ग्राहकलाई पनि दिगो विकाससँग जोड्ने लक्ष्य राखेको छ।

यसअन्तर्गत सञ्चालनमा रहेको ‘नबिल दिगो बचत खाता’ मार्फत वातावरणीय तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्दै ग्राहकलाई दिगो विकास अभियानमा सहभागी गराउने उद्देश्य रहेको बैंकले जनाएको छ।

बैंकले पछिल्लो पाँच वर्षमा दिगो बैंकिङलाई आफ्नो रणनीतिक प्राथमिकताका रूपमा विकास गरेको दाबी गरेको छ। यस अवधिमा नवीकरणीय ऊर्जा क्षेत्रमा ५१ अर्ब ८३ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मा ४५ अर्ब ७७ करोड रुपैयाँ, स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ, महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड रुपैयाँ तथा डीडीएसएल कर्जाअन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ लगानी गरिएको जनाएको छ।

यी लगानीबाट एक लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको र तीमध्ये ३१ प्रतिशत रोजगारी महिलाले प्राप्त गरेको बैंकको दाबी छ।

बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) प्रणालीलाई आफ्नो व्यवसाय तथा जोखिम व्यवस्थापन प्रक्रियामा समावेश गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) सम्बन्धी प्रतिवेदनलाई समेत सुदृढ बनाउँदै लगिएको बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार हाल कुल जनशक्तिमध्ये ३९.१५ प्रतिशत महिला रहेका छन् भने ५० जना महिलाले विभिन्न शाखा तथा रणनीतिक व्यवसाय इकाइको नेतृत्व गरिरहेका छन्।

हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा दिँदै आएको छ।

नबिल बैंक

ट्रेन्डिङ ( साप्ताहिक )