Logo
४ वैशाख २०८२, बिहीबार

ढोरपाटनमा अब बँदेलको पनि सिकार गर्न पाइने

अक्षरपाटी
२०७९ भदौ २२ , बुधबार ११:०९ मा प्रकाशित

बागलुङ। वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ।

नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो।

आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ।

“वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्”, उनले भने, “विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवर्धन हुने विश्वास छ।”

नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन। त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौँ खर्चन तयार हुन्छन्। आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक शिकारका लागि पुगेका छैनन्।

बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

“बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, उनले भने, “वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ।”

बँदेल शिकारको दररेट भने बोलपत्रमा हुने प्रतिस्पर्धापछि मात्र तय हुने आरक्ष कार्यालयले जनाएको छ। विभागले नाउर, झारलसँगै बँदेलको पनि एकसाथ विद्युतीय बोलपत्र माग्ने भएको छ। आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको शिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो। सोही आधारमा विभागले दुई याममा ११÷११ बँदेलको सिकार कोटा तोक्ने तयारी गरेको हो।

प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र शिकार कोटा तोकिने बताए। नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ। गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्ने गर्छ।

यस वर्षलाई बँदेलको बढी बसोबास रहेका सिकार ‘ब्लक’मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र सिकार गराइने भएको छ। आरक्षका सातवटै सिकार ‘ब्लक’मा बँदेल पाइन्छ। फागुने, बार्से र सुर्तिबाङ ‘ब्लक’मा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताए।

“बँदेलको शिकार गराउन कम्पनीले माग गर्दै आएका थिए, विभागले प्रकृया अघि बढाएको सुनिएको छ”, उनले भने, “यसबाट आन्तरिक पर्यटक आकर्षित हुन्छन्, सिकारको रोमाञ्चक अनुभव लिने अवसर पनि मिल्छ ।”

नाउर र झारल शिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उनको भनाइ । “हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न विदेशी ढोरपाटन आउँछन्, बँदेल त मासुको प्रयोजनमा मात्र काम लाग्छ”, थापाले भने ।

रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत शिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ। विभागले केही दिनमै चालु आवको पहिलो शिकार यामका लागि दरभाउपत्र मागको सूचना निकाल्दैछ। विभागले कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ।

ढोरपाटन बँदेलको शिकार