Logo
१ भदौ २०८३, सोमबार

धनुषाका ११० परिवारले पाए ११ वर्षपछि लालपुर्जा

अक्षरपाटी
२०८३ भदौ १ , सोमबार १२:०८ मा प्रकाशित

काठमाडौँ। नापी कार्यालय धनुषाले नापजाँच भएको करिब ११ वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेको छ।

साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पूर्जा वितरणको प्रक्रिया आजसम्म रोकिएको थियो।

विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ११० थान जग्गाधनी पूर्जा वितरण गरिएको हो।

पूर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ११० परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।