


काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
किशोरको बयान चलिरहेको समयमा बयान कक्षभित्र खिचिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडियोमा किशोरले घटनाबारे दिएको बयानसमेत सार्वजनिक भएको छ।
प्रहरीसमक्ष दिइएको बयानको भिडियो बाहिरिएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको थियो। अनुसन्धानका क्रममा भिडियो बयान कक्षभित्रैबाट बाहिरिएको हुनसक्ने देखिएपछि भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरिएको हो।
बारा प्रहरीका एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भिडियो खिच्ने क्रममा कक्षमा पाँच जना प्रहरी देखिएका छन्। भिडियो कसले खिच्यो र कसरी बाहिरियो भन्ने विषयमा अन्य प्रहरीमाथि समेत अनुसन्धान भइरहेको छ।
घटनाको अनुसन्धानका क्रममा संकलित संवेदनशील बयानको भिडियो सार्वजनिक भएपछि पीडितको गोपनीयता, अनुसन्धान प्रक्रियाको मर्यादा तथा प्रहरीको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ।
गरिमा चौधरी हत्या प्रकरण प्रहरी पक्राउ बारा

