Logo
११ भदौ २०८३, बिहीबार

प्रधानमन्त्री बालेन शाह स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रमा

अक्षरपाटी
२०८३ भदौ ११ , बिहीबार १०:०८ मा प्रकाशित

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्।

​प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन्।

उनीहरू आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन्।

​हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन्।

बाढीको लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका थिए।

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्न सचिवालयले जनाएको छ।।

भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

साथै, सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्‍याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिने कार्यक्रम छ।

प्रधानमन्त्री बालेन शाह भोटेकोशी बाढी

ट्रेन्डिङ ( साप्ताहिक )