Logo
१२ भदौ २०८३, शुक्रबार

भोटेकोशीको शोककाबीच देशभर जनैपूर्णिमा मनाइँदै

अक्षरपाटी
२०८३ भदौ १२ , शुक्रबार ०७:०८ मा प्रकाशित

काठमाडौं । देशभर आज नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानै स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र (डोरो) बाँधेर तथा नयाँ जनै धारण गरेर जनैपूर्णिमा मनाउने परम्परा छ।

जनैपूर्णिमाको अवसरमा ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले विधिपूर्वक नयाँ जनै फेर्ने गरेका छन्। काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका मठमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

यस दिन गुरु–पुरोहितले वैदिक मन्त्रोच्चारणसहित रक्षासूत्र बाँधिदिने परम्परा छ। रक्षासूत्रले नकारात्मक शक्तिबाट रक्षा हुने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।

जनैपूर्णिमाका दिन विशेषगरी क्वाँटी खाने चलन पनि छ। नौ प्रकारका गेडागुडी मिसाएर बनाइने क्वाँटीलाई पौष्टिक परिकारका रूपमा खाने गरिन्छ। नेवार समुदायमा गुन्हु पुन्हीका रूपमा तथा विभिन्न समुदायले आ–आफ्नै मौलिक परम्परा र संस्कृतिअनुसार यो पर्व मनाउने गरेका छन्।

तराई तथा मधेसका जिल्लामा भने आजै रक्षाबन्धन (राखी) पर्वका रूपमा मनाइँदैछ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु, सुख–समृद्धि र सफलताको कामना गर्ने गरेका छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिँदै उनीहरूको रक्षाको वाचा गर्ने परम्परा छ।

यद्यपि यस वर्षको जनैपूर्णिमामा विगतका वर्षझैँ उत्साह र उल्लास देखिएको छैन। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै कैयौँ नागरिक प्रभावित र बेपत्ता भएकाले देश नै शोकमा रहेको छ। विपद्का कारण प्रभावित परिवार तथा समुदायमा पर्वको खुसीभन्दा पीडा र चिन्ता बढी देखिएको छ।

जनैपूर्णिमा रक्षाबन्धन राखी