Logo
२७ असोज २०८३, मंगलबार

चीनतर्फ ठूलो ताल फुटेको सूचना, रसुवाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सीडीओको आग्रह

अक्षरपाटी
२०८३ भदौ १२ , शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको सूचना आएको छ। ताल फुटेसँगै नेपालतर्फ पनि बाढीको जोखिम बढ्न सक्ने भन्दै रसुवाका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको जानकारी दिएका छन्।

परियारले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।’

छोचेन खोला र पुरेपू त्साङ्पो नदी त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्। तिब्बतबाट बगेर आउने यी नदीहरू रसुवागढी नजिक नेपाल प्रवेश गरेपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिन्छन्।

बिहीबार बिहानसम्म पहिरोका कारण बनेको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको थियो।

सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर गर्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो।

चीनमा उद्धार अभियानसमेत स्थगित

ताल फुटेर थप बाढीको जोखिम बढेपछि चीनले तिब्बत क्षेत्रमा जारी उद्धार अभियानसमेत स्थगित गरेको छ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएअनुसार चिनियाँ सरकारले उद्धार टोलीलाई घटनास्थलबाट कम्तीमा एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिएको छ।

चीन–नेपाल सीमावर्ती क्षेत्रमा पहिरोपछि थुप्रिएको ठूलो मात्राको भग्नावशेष र लेदोका कारण ताल बनेको थियो। ताल भरिएपछि उद्धार टोली परिचालन गरिएको क्षेत्रतर्फ पानी बग्न थालेको सीसीटीभीले जनाएको छ।

‘सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा स्ट्यान्डबाई अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ,’ सीसीटीभीले जनाएको छ।

यसअघि घटनास्थलमा पुगेका आपत्कालीन उद्धार टोलीलाई समेत एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको थियो।

ताल फुटेको सूचनासँगै नेपालतर्फ पनि नदीको जलसतह बढ्न सक्ने सम्भावना रहेकाले रसुवाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

रसुवा बाढी

ट्रेन्डिङ ( साप्ताहिक )