Logo
१५ भदौ २०८३, सोमबार

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङबाट सेना फर्कियो, मानवीय उपस्थिति नभेटिएको भनाइ

अक्षरपाटी
२०८३ भदौ १५ , सोमबार ०१:०८ मा प्रकाशित

रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र गरिएको खोजीकार्य स्थगित गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी सूचना अनुसार कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको हो।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंकासहित नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर विस्तृत रूपमा खोजी गर्नुका साथै ड्रोनसमेत उडाएर निरीक्षण गरेको बताइएको छ। तर, खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थितिको कुनै संकेत फेला नपरेको सेनाले जनाएको छ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य स्थिगत गरिएको हो। त्यसपछि नेपाली सेनाको टोली घटनास्थलबाट रसुवाको धुन्चे फर्किएको छ।

भोटेकोशीमा आएको बाढीपछि आयोजनाको संरचनामा क्षति पुगेको तथा केही व्यक्ति सुरुङभित्र फसेको हुनसक्ने आशंकामा उद्धार तथा खोजीलाई तीव्रता दिइएको थियो।

भोटेकोशीमा बाढी विपद् तथा उद्धार

ट्रेन्डिङ ( साप्ताहिक )