Logo
१५ भदौ २०८३, सोमबार

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषमा ६० करोड

अक्षरपाटी
२०८३ भदौ १५ , सोमबार ०८:०८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन ।

रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो।

प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो।

त्यसयताकै सबैभन्दा धेरै रकम आज अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो। आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ।

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत चेक हस्तान्तरण गरेर उपलब्ध गराएकाे थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार चार दिनमा अर्थमन्त्रीमार्फत कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ।

त्यसमध्ये ८० हजार रुपैयाँ नगद थियो भने बाँकी सबै ‘एकाउन्ट पेयी’ चेक रहेका छन्। यस्तै, दुई लाख अमेरिकी डलरकाे चेक पनि मन्त्रालयमा प्राप्त भएकाे छ।

ट्रेन्डिङ ( साप्ताहिक )