



काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज जीवित उद्धार गरिएका दुई जनामध्ये एकको अवस्था जटिल देखिएको र अर्का व्यक्तिको अवस्था सामान्य रहेको छ प्रधानमन्त्री कार्यालयले जनाएको छ।
दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको हो। उनलाई उद्धारलगत्तै काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। उनको सघन उपचार भइरहेको छ।
यसैगरी, सुरुङबाट सुरुमा जीवित उद्धार गरिएका सञ्जय साहको अवस्था सामान्य छ। स्वास्थ्य अवस्था स्थिर देखिए पनि थप परीक्षण तथा उपचारका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याउने तयारी गरिएको छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न क्षेत्रका विज्ञहरू सम्मिलित संयुक्त उद्धार टोलीले आज बिहान सुरुङभित्र प्रवेश गरी दुवै जनालाई जीवित उद्धार गरेको हो।
आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकापछि बाढी आएको समयदेखि नै सुरक्षाकर्मी तथा उद्धार टोलीले लगातार खोज तथा उद्धार प्रयास गर्दै आएका थिए। लामो प्रयासपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सफलता मिलेको हो। सुरुङभित्रबाट आवाज आएको र उद्धार गरिएका साहले भित्र रहेकाहरु जिवितै भएको जाकारी दिएपछि उद्धारलाई थप तीव्र पारिएको छ।
उद्धार तथा राहत त्रिशूली–३ ‘ए’

