



नयाँ दिल्ली । तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार नयाँ दिल्लीमा उच्चस्तरीय कूटनीतिक संवाद गरेका छन्।
नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच (Diplomatic Roundtable) संवादलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा क्षेत्रीय विषयमा विचार आदानप्रदान गरेका हुन्।
अर्थमन्त्री डा वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउनु पर्नेमा जोड दिएका छन्।
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका उनले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको बताए।
उनले नेपालले हालै बेहोरेको प्राकृतिक विपद् र त्यसले पुर्याएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा जनताले देखाएको तदारुकता एवं उल्लेखनीय सहायताप्रति आभार व्यक्त गरे।
विपद्पछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’ (Build Back Better) को अवधारणा दृढतापूर्वक लागू गरिरहेको उनले जानकारी दिए।
जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि यसको मार हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक खेप्नुपरेको उल्लेख गरे।
साथै, परम्परागत सहायता ढाँचाबाट माथि उठेर विकास वित्तका बदलिँदा आयाम, हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणहरूको अधिकतम परिचालनमा उनले जोड दिए।
उनले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गरी व्यापार घाटा न्यूनीकरण र गैर-भन्सार अवरोधहरूको निराकरण गर्नुपर्ने आवश्यकता औंल्याए।
छलफलका क्रममा भारतीय पक्षका विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाको प्रशंसा गरेका थिए।
सहभागीहरूले दुवै देशको साझा समृद्धि सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी र पारस्परिक विश्वासमा निर्भर रहने निष्कर्ष निकाल्दै द्विपक्षीय संयन्त्रहरूलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
गोलमेच संवादमा नेपाल र भारतबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धसँगै दक्षिण एसियाली क्षेत्रीय सहकार्य, व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको जनाइएको छ।
कार्यक्रममा पूर्व भारतीय विदेश सचिव तथा नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण, भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता एवं राज्य सभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा पूर्व विदेश सचिव शिवशंकर मेनन सहभागी थिए।
त्यस्तै, पूर्व उप–राष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरण, प्रख्यात अर्थशास्त्री तथा जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का एमेरिटस प्रोफेसर एवं दिल्ली विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसनका अध्यक्ष जावेद अशरफ पनि संवादमा सहभागी थिए।
नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राेय, भारतीय जनता पार्टी (भाजपा) को विदेश मामिला विभागका प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटीका अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनुस्मृति तथा द हिन्दू की कूटनीतिक मामिला सम्पादक सुहासिनी हैडरसहित नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो।
अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने, लगानी तथा व्यापार सहजीकरण गर्ने र क्षेत्रीय कनेक्टिभिटीका विषयमा समेत छलफल भइरहेको छ।
अर्थमन्त्री वाग्ले तीन दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय सरकारका उच्च अधिकारी तथा विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालासँग भेटवार्ता तथा संवाद गरिरहेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

