


काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदातको करिब साढे ६ घण्टामा दिउँसो २:३० बजेसम्म आधा अर्थात ३ हजार ७५४ मत खसेको छ।
मतदान मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार विभिन्न प्रदेश तथा समूहमा तोकिएका मतदान केन्द्रमा मतदान जारी छ। कुल ७ हजार २५५ प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मात्र मतदान गरेका छन्।
दिउँसो २:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३, मधेसमा १ हजार २३४ मध्ये ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका २ हजार ४५७ मध्ये ७३३ जनाले मतदान गरेका छन्।
त्यस्तै, लुम्बिनीमा १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीमा ७८७ मध्ये ५०७ र बागमतीमा १ हजार ४९१ मध्ये ७३२ जनाले मतदान गरेका छन्। निर्वाचन समितिले यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकेको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याएको छ।
एउटै मतदातालाई ३० देखि ४० मिनेट मतदान गर्न समय लाग्ने गरेको छ। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो। मतदान निर्वाध रूपमा चलिरहेको मिडिया सेन्टरका प्रमुख भण्डारीले जानकारी दिएका छन्। तर थप मतदातको गतिले थपिएको समयमा पनि मदतान सकिन हम्मे हम्मे हुने देखिएको प्रतिनिधिहरुको प्रतिक्रिया छ।
नेपाली काँग्रेस १५औँ केन्द्रीय महाधिवेशन

