Logo
३० असोज २०८३, शुक्रबार

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रधानमन्त्री शाहको घोषणा

अक्षरपाटी
२०८३ असोज ३० , शुक्रबार १२:१० मा प्रकाशित

काठमाडौं, ३० असोज । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना अघि बढाइएको बताएका छन्।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस, २०८३ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाइएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहले आगामी दिनमा आउन सक्ने विपद् तथा संकटको सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए। त्यसका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

७१औँ प्रहरी दिवस ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ मनाइएको हो। सो अवसरमा ‘पुलिस मिरर २०२६’ समेत विमोचन गरिएको थियो। प्रधानमन्त्री शाहले उक्त प्रकाशनले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने विश्वास व्यक्त गरे।

वित्तीय र साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र

प्रधानमन्त्री शाहले पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराध नियन्त्रणलाई सरकारले गम्भीर रूपमा लिएको बताए। साइबर तथा वित्तीय अपराधबाट पीडित नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेट कम्पनीहरूलाई एउटै संयन्त्रमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

त्यसैगरी अपराध नियन्त्रणमा प्रविधिको प्रयोग बढाउँदै एआई, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रधानमन्त्री शाहले बताए।

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूलीलगायतका विपद्मा कर्तव्य निर्वाह गर्दागर्दै अमरत्व प्राप्त गरेका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले कर्तव्यका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रहरी संगठनलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान गर्ने पूर्वप्रहरी कर्मचारीप्रति समेत आभार व्यक्त गरे।

उनले राष्ट्रसेवकको वास्तविक परीक्षा संकटका बेला हुने उल्लेख गर्दै संकटको घडीमा धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनले जुनसुकै संकट सामना गर्न सहयोग गर्ने बताए। नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारप्रति प्रधानमन्त्री शाहले धन्यवादसमेत व्यक्त गरे।

प्रहरी दिवस तथा आसन्न बडादशैँको अवसरमा प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री वालेन्द्र शाह ७१औँ प्रहरी दिवस