Logo
२ मंसीर २०८३, बुधबार

काठमाडौं–तराई द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङमा ब्रेकथ्रु

अक्षरपाटी
२०८३ मंसीर २ , बुधबार ११:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईरमधेश द्रुतमार्ग निर्माणले गति लिएको छ । आयोजनाको समग्र भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको अवस्थामा सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेकथ्रु सम्पन्न भएको छ ।

३ हजार ४२२ मिटर लम्बाइ रहेको महादेवटार सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन् । सुरुङको दुवैतर्फबाट भइरहेको खन्ने काम जोडिएसँगै आयोजनाको सुरुङ निर्माणले थप गति लिने अपेक्षा गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माणाधीन छन् । यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै आयोजना निर्माणको महत्वपूर्ण चरण पार भएको सेनाको भनाइ छ ।

आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ । उच्च प्रविधियुक्त पुल तथा अन्य भौतिक संरचनाको निर्माण कार्यसमेत तीव्र रूपमा अघि बढिरहेको नेपाली सेनाले जनाएको छ ।

यद्यपि, ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद भने अझै चुनौतीका रूपमा रहेको छ । उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको समस्या समाधानका लागि पहल भइरहेको र विवाद टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ ।

महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराईरमधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

करिब ७३ किलोमिटर लामो आधुनिक द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराईरमधेशबीचको यात्रा समय तथा दूरी घट्ने, इन्धन खपत कम हुने र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा समेत बचत हुने उनले बताए ।

राष्ट्रपति पौडेलले द्रुतमार्गले भौतिक पूर्वाधार विकासमा मात्र नभई सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे । यसले राजधानी र तराईरमधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनको भनाइ थियो ।

‘काठमाडौँ उपत्यकालाई तराईरमधेशसँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने ।

द्रुतमार्ग सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधिको विस्तारमा समेत सहयोग पुग्ने उनले बताए ।

राष्ट्रपति पौडेलले आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै नेपाली सेनाले हासिल गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे । जटिल भौगोलिक अवस्था र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, क्षमता र प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताए ।

आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।

काठमाडौं–तराई द्रुतमार्ग महादेवटार सुरुङ

ट्रेन्डिङ ( साप्ताहिक )