Logo
८ पुस २०८१, सोमबार

विद्युतका तार भूमिगत गर्दै भरतपुर महानगरपालिका

अक्षरपाटी
२०७९ चैत्र २१ , मंगलबार ०७:०४ मा प्रकाशित

चितवन। भरतपुर महानगरपालिकालाई ताररहित नगर बनाउने काम अघि बढेको छ।

पहिलो चरणमा दुई मुख्य सडकमा रहेका विद्युतका तार भूमिगत गर्ने काम सुरु भएको छ।

पहिलो चरणमा गोन्द्राङदेखि पुलचोक र बाइपास सडकमा विद्युतका तार भूमिगत गर्ने काम भइरहेको हो।

विद्युत् प्राधिकरण भरतपुरका अनुसार मेसिनको प्रयोगले जमिनमुनि सुरूङ बनाउने र पाइप बिछ्याउने काम भइरहेको छ।

पहिलो चरणमा ३३ केभी लाइनका तार भूमिगत गर्नका लागि पाइप बिछ्याउने काम भइरहेको हो। त्यसपछि ११ केभी र एलटी लाइन क्रमशः भूमिगत गर्ने योजना छ।

३३ केभीका तार भूमिगत गर्न पाइप बिछ्याउने काम सकिन लागेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको भरतपुर शाखाका इलेक्ट्रिकल सुपरभाइजर सन्दीपविक्रम शाहले बताए।

बाइपास सडकमा भरतपुर बसपार्क चोकदेखि भरतपुर आँखा अस्पतालसम्मको सडकखण्डमा पाइप विछ्याउने काम भइरहेको छ। भरतपुर बसपार्क चोकदेखि गोन्द्राङसम्म सडकको एक साइडमा पाइप बिछ्याएर सकिएको छ।

बाइपास सडकमा दुवै साइडमा बिजुलीका तार भूमिगत गरिने शाहले बताए। ‘बाइपासमा आठवटा पाइप बिछ्याउछौँ । बसपार्क चोकदेखि मिलन चोकसम्म आठवटा र त्यहाँबाट गोन्द्राङसम्म चारवटा पाइप बिछ्याउछौँ’, उनले भने।

भरतपुरमा गोन्द्राङ–पुलचोक र बाइपास सडकको दुवै साइडमा गरी २३ किमीमा बिजुलीका तार भूमिगत गरिने उनले जानकारी दिए।

तार भूमिगत गरेपछि बाहिरी समस्याले खासै असर नगर्ने भएकाले तारमा ‘फल्ट’ आउने सम्भावना एकदमै कम हुने उनी बताउँछन्।

भूमिगत भएपछि तारलाई चट्याङले असर गर्दैन । जसका कारण हावाहुरी र चट्याङ पर्ने बित्तिकै लाइन जाने समस्या पनि हट्ने छ।

एक अर्ब ३० करोड रूपैयाँ लागतमा विद्युत्का तार भूमिगत गर्न लागिएको हो।