रास्वपाले अडियो विवादमा मुछिएका ढाकाकुमारलाई गर्यो कारबाही, उनको ठाउँमा कंसाकार सांसद

अक्षरपाटी
२०७९ चैत्र २९ , बुधबार ०८:०४ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले पैसा मागेको अडियो बाहिरिएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो बाहिरिएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको हो। पार्टीले साधारण सदस्यबाटै निकालेपछि उनको सांसद पद पनि जाने भएको छ।

श्रेष्ठले २ करोड मागेको अडियो मेडिकल व्यवसायी प्रसाईँले आइतबार सार्वजनिक गरेका थिए।

अडियोलगत्तै रास्वपाको अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो। आजको केन्द्रीय समिति बैठकमा पनि उनीसँग अडियोबारे सोधिएको थियो।

तर पत्रकार सम्मेलन गर्दै आज पार्टीका सभापति रवि लामिछानेले भने, ‘पार्टीले गरेको छानबिनका क्रममा त्यो अडियो उहाँकै हो, अडियोमा पैसा मागिएको छ। सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ।’

रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दावासिनी कंसाकारलाई सांसद बनाउने भएको छ।

सभापति लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराए।

समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ।