Logo
२६ पुस २०८१, शुक्रबार

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया १० दिनभित्र सुरु गर्न प्रधानमन्त्रीलाई बारको दबाब

अक्षरपाटी
२०७९ चैत्र ३० , बिहीबार ११:०४ मा प्रकाशित

काठमाडौं। करिब १४ महिना देखि देशको सर्वोच्च न्यायालय कायममुकायम प्रधानन्यायाधीशबाट चलिरहेको छ।

यसरी सर्वोच्च अदालत कायममुकायमको भरमा सञ्चालन गर्दा न्याय सम्पादनमा कठिनाइ भएको भन्दै नेपाल बार एशोसियशनले १० दिन भित्र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाव दिएको छ।

नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनसहित कानून व्यवसायीले आज प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहालालाई दबाव दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाहाललाई भेटेका उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन्।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महशुस आफूहरुले गरेको प्रतिक्रिया दिए।

प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष भएकाले यसमा पहलकदमी लिन ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए।

प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निस्कर्षम पुग्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए।