Logo
६ पुस २०८१, शनिबार

बैशाख १८ देखि तातोपानी नाका नियमित सञ्चालनमा

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार १०:०४ मा प्रकाशित

सिन्धुपाल्चोक। कहिले भूकम्प त कहिले कोरोना महामारीको बहाना बनाएर बन्द अवस्थामा राखिएको चीनसँग जोडिएको ततोपानी नाका खुलाउन पटक पटक प्रयास भएका छन्।

सोही विषय र सीमा सुरक्षाको विषयलाई लिएर चीन र नेपालतर्फका सुरक्षा अधिकारीबीच बैठक भएको छ। सो बैठकले भने वैशाख १८ देखि तातोपानी नाका पूर्ण र नियमित रुपमा सञ्चालन गर्ने सहमति गरेको छ।

सोमबार नेपाल र चीन दुबै पक्षका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको हो।

बैठकमा वैशाख १८ बाट तातोपानी नाका नियमित सञ्चालन गर्ने, सीमा सुरक्षा तथा कोरोना संक्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिइको छ।

दुवै देशबीच कोभिड संक्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्था मिलाउने बैठकले सहमति गरेको छ।

त्यस्तै सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदान–प्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेत आपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील भएर सुरक्षा व्यवस्थालाई बलियो बनाउनेलगायत बैठकमा छलफल भएको बताइएको छ।

तातोपानी नाका