काठमाडौं। काठमाडौंको सिनामंगलमा रहेको पञ्चरुपा सेभिङ एण्ड क्रेडिट सहकारीका सञ्चालकहरुले शेयर सदस्य होमप्रसाद चालिसेका कारण आफूहरु अन्यायमा परेको गुनासो गरेका छन्।
उनीहरुले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सहकारीका शेयर सदस्य चालिसेबाट आफूहरु ठगिएको बताएका छन्।
सहकारीका उपाध्यक्ष मोहन सापकोटाले मदिराको कारोबार गरिरहेको संस्कार ट्रेडर्सका सञ्चालक होमप्रसाद चालिसे सो सहकारीमा कारोबार गर्ने शेयर सदस्य रहेको र चालिसेले नियमित कारोबार र राम्रो कारोबार गरिरहेको बताए।
उनले १ करोड सहकारीमा राखिराख्ने र त्योभन्दा माथिको रकम राख्ने र झिक्ने समझदारी भएको बताउँदै भने– ‘चालिसेले आफ्नो पैसाको सुरक्षाको लागि विश्वासको लागि चेक मागेको र हामीले उहाँको विश्वासको लागि एउटा चेक दिएका थियौं।’
विस्तारै चालिसेले कारोबार गरी सहकारीको खातामा आफ्नो रकम शून्यमा राखेको उनले दाबी गरे।
उनले भने, ‘हाम्रो चेक ठगी गर्ने उद्देश्यले उहाँले आफंैले त्यो चेकमा रकम भरेर, त्यो पनि पाँच करोड रकम भरेर बैंकमा बाउन्स गर्ने तरिकाले अगाडि बढ्नुभयो। जब माघको २४ मा हामीले अन्तिमपटक उहाँको सबै भुक्तानी पेमेन्ट गरिसकेपछि चेक बाउन्स गरेको कुरा बैङ्कबाट पत्र आएपछि थाहा पायौं, हामी अलिकति झसङ्ग भयौं। र हामीले दिनुपर्ने बचत नभएको। एक त संस्थालाई जुन मिनिमम ब्यालेन्स उहाँले राख्ने कुरा भएको थियो। त्यो हामीले लगानी लगाइरहेको अवस्थामा पनि हामीले म्यानेज गरेर पेमेन्ट गरिसके पनि उहाँले चेक बाउन्सको प्रकिया अगाडि बढाउनुभयो।’
त्यसबाट आफूहरु अन्यायमा परेको बताउँदै उनले हजारौं शेयर सदस्यरहेको उक्त संस्थाको भविष्य पनि चालिसेले गर्दा नकारात्मक प्रभाव पर्न गएको उनको दाबी छ । सहकारीका अरु शेयर सदस्यहरुलाई सहानुभूतिका लागि उनले आभार पनि व्यक्त गरे।
यस्तै, सहकारीका कार्यकारी प्रमुख पुरन रावलले मदिरा ब्यवसायी चालिसेबाट ठगिएको कारण आफूहरुले बाध्य भएर पत्रकार सम्मेलनको आयोजना गरेको स्पष्ट पारे।
उनकाअनुसार चालिसेले २०७८ असोज १ गते उक्त सहकारीमा खाता खोलेर नियमित कारोबार गरिरहेको स्मरण गराए।
चालिसेले सहकारीमा खाता खोलेको एक महिना हुने बित्तिकै ०७८ को कात्तिक १ गते एक महिनाको लागि भनेर आफूहरुको सहकारीबाट एक करोड ऋण लिएको र बैङ्किङ काम नभएका कारणले चालिसेले समयमा ऋण तिर्न नसकेको पनि उनको भनाइ छ।
२०७९ सालमा लक्ष्मी बैङ्कबाट ऋण पास भएपछि उनले ५० लाख रुपैयाँ २०७९ जेठ १७ गते आफूहरुलाई भुक्तानी गरेको रावलको भनाइ छ।
उनले भने,‘असोज ३ गते करौडौं पैसा म तपाईंको संस्थामा राखिराख्दछु। दशैं चाडवाडको बेला छ। अझै मेरो ब्यवसाय बढ्छ।
मसँग भएको सम्पूर्ण पैसा पनि तपाईंकै संस्थामा राख्ने हो। यसको सुरक्षाको लागि मलाई एउटा चेक चाहीँ दिनुपर्यो हजुर भनेर मकहाँ कुरा आइपुग्यो।
मकहाँ आइपुगेपछि अरू सञ्चालक सदस्यलाई नसोधेर हाम्रो अफिसमा सिग्नेचर गरेर राखेको चेक मैले लगेर उहाँलाई दिएको हो। होमप्रसाद चालिसेलाई, त्यो चेक २०७९ साल असोज ३ गते दिएका थियौं ।’
उक्त मितिमा सहकारीमा रहेको चालिसेको खातामा करिब ३ करोड ४६ लाख रुपैयाँ रकम रहेको उनले स्मरण गराए।
पहिला आफ्नो खातामा १३ महिनाको समयमा चालिसेले १ अर्ब ४५ करोड ८ लाख ८८ हजार १ सय ८७ रुपैयाँ १५ पैसाको कारोबार गरेको उनले बताए।
त्यसपछि चालिसेले चेकिङ्ग आएको र सबै कागज चेकिङ्ग लगेको र छोरीको खातामा कारोबार गर्न चालिसेले आग्रह गरेको बताए।
त्यसपछि उनले नाबालक छोरी स्वस्ति चालिसेको नाममा खाता खोलेर उनको नाममा सबै पैसा हालेर कारोबार गरेको उल्लेख गरे।
कारोबार भएको समयमा कुनै समस्या नभएको बताउँदै उनले भने,‘२०७९ पुस १७ गते हामीले दिएको ग्यारेन्टीको चेक बाउन्स गर्नुभएछ। जबकी हामीलाई जानकारी नदिएर, त्यो टाइममा उहाँको २ करोड लगभग ब्यालेन्स थियो। तर उहाँले ५ करोड रकम भरेर बाउन्स गरेको कुरा हामीलाई थाहा थिएन। तर, एकचोटी बाउन्समा बैङ्कबाट कुनै जानकारी दिएको थिएन, दोस्रोपटक बाउन्स हुँदा हामीले थाहा पायौं।’
त्यसपछि चालिसेसँग छलफल भएपछि १ करोड ५० लाख सहकारीको खातामा राख्ने र बाँकी रकम उनको खातामा हाल्ने आफूहरुको प्रस्तावमा चालिसे सहमत नभएको पनि उनले सुनाए।
उनले भने,‘त्यतिवेला उहाँले आफ्नो सबै पैसाको माग गर्नुभयो। त्यसपछि उहाँको रकम दुईवटा छुट्टाछुट्टै बैङ्कको खातामा हामीले जम्मा गरेको भौचरसहित उहाँको कार्यालयमा राखेका थियौं।’
तर, चालिसेले भने आफूले ब्याज नपाएको भन्दै सहकारी विभागमा आफूहरुविरुद्ध उजुरी दिएको उनले बताए। तर, विभागले उजुरीमाथि छलफल गर्न बोलाएको बैठकमा भने चालिसे अनुपस्थित भएको उनको दाबी सन्चालकको छ।
उनले आफूहरुले चालिसेको सबै पैसा बिहान बुझाएको तर त्यही दिन बेलुका उक्त ५ करोड रकम भुक्तानी गर्न ग्लोबल आइएमइ बैंकले पत्र दिएको बताए।
‘त्यो पत्र प्राप्त भएपछि हामी झसङ्ग भयौं। किनभने उहाँले त केही गरेको छैन, बैंकमा बाउन्समात्रै गरेको हो। अरु प्रकिया अगाडि बढाएको छैन भन्दै एउटा आश्वासन दिनुभएको थियो ।’
त्यसपछि ७ दिनसम्मको समयसीमा भएको र चालिसेले चेक फिर्ता दिने आफूलाई भनेको अडियो आफूसँग अहिलेपनि सुरक्षित रहेको उनको भनाइ छ।
७ दिनसम्मपनि चेक नदिएपछि आफूहरुले केन्द्रीय अनुसन्धान ब्युरो महराजगञ्जमा गएर चालिसेविरुद्ध निवेदन दिएको र तेस्रोपटक बोलाउँदमात्रै उनी आएको कार्यकारी प्रमुख रावलको दाबी छ।
चालिसेले प्रहरीसँगको छलफलमा पनि आफ्नो जिद्दी नछोडेको र त्यसपछि अदालती बाटो रोजेको उनले बताए।
चालिसेले १९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर २१ गते मुद्दाको प्रतिलिपि लिएर प्रहरीकोमा आएको उनले सुनाए। प्रहरीकोमा चालिसेले मुद्दा दर्ता गराएको भन्दै निस्किएको उनले बताए।
कार्यकारी प्रमुख रावलले आफ्नो सहकारीमा १७ महिनामा करिब १ अर्ब ७८ करोडको कारोबार भएको र सो कारोबार पनि शंकास्पद कारोबार भएको बताए। चालिसेले आफूहरुलाई मात्र नभई अन्य व्यक्तिहरुलाई पनि ठगेको बताए।
सो क्रममा कार्यकारी प्रमुख रावलले ब्यवसायी चालिसेसँग भएको अडियो कुराकानीसमेत सार्वजनिक गरेका थिए।
पत्रकार सम्मेलनमा सहकारीका उपाध्यक्ष मोहन सापकोटा, कार्यकारी प्रमुख पुरन रावललगायतका सहभागी थिए।