Logo
८ पुस २०८१, सोमबार

मन्त्री बस्ने भवन बनाउने म्याद तेस्रोपटक सकिँदै, चाँडो बनाउन मन्त्रीको निर्देशन

अक्षरपाटी
२०८० जेठ ६ , शनिबार ०८:०५ मा प्रकाशित

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम चाँडो सक्न यथासक्य पूरा गर्न निर्देशन दिएकी छन्।

शनिबार आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरूङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथासक्य पूरा गर्न निर्देशन दिएकी हुन्।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो।

तर कोभिड–१९ र अन्य कारणले समयमा काम हुन सकेन। त्यसयता भवन निर्माणका लागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ।

मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मानसिकताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएकी हुन्।

‘बेलामा काम सक्यो भने तपाईँहरूलाई पनि ढुक्क हुन्छ। सरकारको पनि एउटा योजना पूरा हुन्छ । बरू कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भएपनि काम गर्नुस्, तर सम्झौताबमोजिम यथासक्य काम सम्पन्न गर्नुहोस्,’ मन्त्री गुरूङले भनिन्।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ।

कार्यालयका उपनिर्देशक दिपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिए।

मन्त्री गुरूङसहित सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहरी विकास तथा भवन निर्माण डिभिजनका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ लगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेका थिए।

त्यसक्रममा मन्त्री गुरूङले भवन निर्माण क्षेत्र वरपरका स्थानीयबासीहरूसँग समेत छलफल गरेकी थिइन्।

स्थानीयबासीहरूले भवन निर्माणसँगै आसपासको सडक निर्माण, ढल निर्माण लगायतका योजनामा समेत सरकारले लगानी गरिदिनुपर्ने माग गरेका छन्।