Logo
६ वैशाख २०८१, बिहीबार

करिश्मा अझै राम्री हुने, आँखाको कस्मेटिक सर्जरी गर्दै

अक्षरपाटी
२०७९ भदौ १८ , शनिबार ०५:०९ मा प्रकाशित

काठमाडौं। अभिनेत्री तथा पछिल्लो समय एमालेको राजनीतिमा प्रवेश गरेकी करिश्मा मानन्धरले आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने भएकी छन्।

ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको वार्षिक उत्सवमा प्रमुख अतिथि भएर पुगेकी करिश्माले आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन्।

‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ। बैंककमा गर्नुपर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा गर्ने निर्णय लिएँ।’

अभिनेत्री करिश्माले सातौं वार्षिक उत्सब समारोहको उद्घाटन गर्दै भनिन्, ‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफुहरुले अझ सजिलो भएको पनि उनले बताइन्।

बिगत सात वर्षदेखि आँखा सम्बन्धि सबै समस्या र आँखासहित कस्मेटिक सर्जरी आफुहरुले गर्दै आएको सो सेन्टरकी अध्यक्ष एवम् डा पुजा राजभण्डारीले बताइन्।

आफुहरुले प्रदान गर्ने सेवा बारे उनले भनिन्, ‘आँखाबाट निरन्तर आँशु वा पिप बग्ने समस्याको उपचार गर्ने, आँखाको वरीपरीको बोसो, मुसा, मासुको डल्ला, ट्युमर हटाउने, आँखाको झिल्ली बाहिर भित्र फर्केको उपचार गर्ने, आँखाको ढकनी तलझरेको उपचार गर्ने, आँखाको मुन्द्री बनाउने, मँगोलियन आईलिड सर्जरी गर्ने जस्ता सेवा हामीले दिएका छौं । यस्तै आँखाको बोसो हटाउने, आईब्रो लिफ्टिङ गर्ने, गाला लिफ्टिङ गर्ने, अनुहारको चाउरीपना हटाउने, रोगका कारण आँखा साना ठुला भएकाहरुको उपचार कस्मेटिक आई सर्जरीबाट गर्ने सेवा पनि हामीले दिएका छौं ।’

सो क्रममा सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले आफुहरुले बिदेशमा दिने आँखाको कस्मेटिक सर्जरी सम्बन्धि सबै सेवा दिएकाले यो सेवाको लागि नेपालहरु बिदेश जाने क्रम निकै कम भएको बताए।