Logo
२७ साउन २०८३, बुधबार

पूर्वाधारको अभावमा राष्ट्रिय अभिलेखालयका ऐतिहासिक दस्तावेज संरक्षणमा चुनौती

अक्षरपाटी
२०८३ साउन २७ , बुधबार ११:०८ मा प्रकाशित

काठमाडौं । पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत र साधनको अभावमा राष्ट्रिय अभिलेखालयमा संरक्षित ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक दस्तावेजको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।

रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्न पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रधानाङ्गले अभिलेखालयले सुरक्षित र सुविधासम्पन्न भौतिक पूर्वाधारको अभाव झेलिरहेको बताइन्। पर्याप्त स्रोत नहुँदा अभिलेखको संरक्षणसँगै यसको महत्त्व अध्येता, विद्यार्थी र सरकारसमेतलाई यथेष्ट रूपमा बुझाउन नसकिएको उनको भनाइ थियो।

प्रधानाङ्गले नयाँ स्थानमा जग्गासहितको सुविधासम्पन्न भवन निर्माण, अभिलेख सुरक्षित गर्न आधुनिक प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि बजेटमार्फत लगानी गर्न अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराइन्।

अवलोकनपछि अर्थमन्त्री वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिए। उनले अभिलेखालयलाई अध्येता, विद्यार्थी तथा इतिहासमा रुचि राख्ने सबैका लागि महत्वपूर्ण ज्ञान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

‘यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ। नेपालका ऐतिहासिक दस्तावेजहरूलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि धन्यवाद। अध्येता, विद्यार्थी र इतिहासमा चासो राख्नेहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ,’ वाग्लेले भने।

अवलोकनका क्रममा अर्थमन्त्री वाग्लेले ऐतिहासिक शासन व्यवस्थासँग सम्बन्धित आर्थिक तथा राजनीतिक गतिविधिका अभिलेख र सङ्ग्रहबारे संक्षिप्त जानकारी लिएका थिए। उनले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रमको प्रभावकारिताबारे समेत चासो राखेका थिए।

राष्ट्रिय अभिलेखालयमा नेपालका विभिन्न कालखण्डका महत्वपूर्ण ऐतिहासिक दस्तावेज तथा अभिलेखहरू सुरक्षित छन्। ती सामग्रीको दीर्घकालीन संरक्षणका लागि आधुनिक प्रविधि, उपयुक्त भौतिक पूर्वाधार र दक्ष जनशक्तिमा पर्याप्त लगानी आवश्यक रहेको विभागले जनाएको छ।

पुरातत्व विभाग