काठमाडौं। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले ठूला सडकलाई प्राथमिकता दिनुको सट्टा साना–साना सडकहरुमा समय र पैसा खर्च भइरहेको बताए।
थापाले राजमार्गहरुलगायत ठूला सडकलाई प्राथामिकता दिनुको सट्टा साना साना सडकमा समय र पैसा नोक्सान भएको विचार व्यक्त गरे।
आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘पूर्वाधार विकासमा सञ्चारकर्मीको भूमिका’ अन्तरक्रिया कार्यक्रममा उनले विभागले संघीय सडकहरु मात्रै हेर्नुपर्ने भए पनि त्यसबाहेकका सडक हेर्नुपर्ने बाध्यता आएको बताए।
उनले भने, ‘संविधानतः हामीले संघीय सडकहरु मात्रै हेर्ने हो। नेपाल सरकारले संघीय सडक भनेर ८० वटा राजमार्ग भनेर तोकिदिएको छ। त्यो ८० वटा राजमार्ग मात्रै सडकविभागअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत हेरिनुपर्ने हो। तर त्यो नभएर हामीले वडास्तरीय, गल्ली–गल्लीका सडकहरु पनि हेर्नु परिरहेको छ।’
विभाग यस्ता सानातिना सडकरुमा केन्द्रिकृत हुन छोडेर ठूला सडकमा केन्द्रिकृत हुनुपर्ने महानिर्देशक थापाले बताए। बजेट निर्माणका क्रममा पनि त्यही किसिमको छलफल भए पनि बजेट आउने बेलामा यस्तै सानासाना धेरै सडक नै आउने गरेको उनको गुनासो थियो। उनका अनुसार विभागमा करिब २५–३० अर्बको साना सडक आउने गरेका छन्।
स्थानीय जनप्रतिनिधिहरुसमेत त्यही साना सडककै लागि डेलिकेसन लिएर आउने गरेको उनको भनाइ छ। ‘सांसदज्यूहरु, प्रदेश सांसदज्यूहरु्,यहाँसम्म कि गाउँपालिका र नगरपालिकाका प्रमुखहरु पनि त्यही सानासाना सडकहरुका लागि भनेर डेलिकेसन लिएर आउनुहुन्छ,’ उनले भने।
संविधानतः महानिर्देशकलाई दिएको कार्यादेशअनुसार उनले १० प्रतिशत मात्रै हेर्ने गरेको बताउँदै बाँकी ९० प्रतिशत समय कार्यादेशबाहिरका सडकहरु हेरेर बस्नुपर्ने अवस्था भएको उनले जानकारी दिए।
स्थानीय जनप्रनिनिधि, सांसदहरुको उद्देश्य पनि आफ्नो गाउँठाउँको विकास भएको हेर्न चाहने, बाटो गल्ली बनेको देख्न चाहाने भएकाले कार्याक्षेत्रभन्दा बाहिरको साना सडकमै अल्झिनुपर्ने अवस्था रहेको उनको धारणा थियो।
उनले भने, ‘सांसदहरु, नगरापालिका र गाउँपालिकाका मेयरहरुको उदेश्य आफ्नो सडक र आफ्नो गाउँको विकास होस्, बाटो बनोस्, गल्ली बनोस् भन्ने चाहाना हुँदोरहेछ, आफ्नो गाउँठाउँमा केही गरेर देखाउँ भन्ने चाहना हुनु स्वभाविक हो। उहाँहरुलाई जनताले केही आशा गरेर चुनेर पठाएका हुन्छन् ।’
तर पनि जसले जुन जिम्वेवारी पाएको हुन्छ, त्यहीअनुसार काम गर्न पायो भने रिजल्ट दिन सकिने उनको राय छ।
आफूहरूले ९० प्रतिशत कार्यादेशमा नै नभएको काम गर्नु परेको भन्दै एलएमबीआईएसको कारणले पुँजिगत खर्चमा समस्या भएको उनको गुनासो थियो। थापाले देशको आधा जस्तो विकासको खर्च भौतिक पुर्वाधारमै भएको भन्दै महत्वपुर्ण र परिणाममुखी काममा लाग्नुपर्ने बताए ।
कार्यक्रममाा अर्थसमितिका पूर्वसभापति कृष्णप्रसाद दाहालले पुर्वाधारको महत्वपूर्ण पाटो सडकको विकास दीर्घकालिन ढंगबाट गरिनुपर्ने बताए।
पूर्वाधार लगायतका विकास निमार्णका कार्यमा पत्रकारले रचनात्मक भूमिका खेल्नुपर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताए।
उनले अबको पत्रकारिता विद्यागत र विशिष्टिकृत हुनुपर्नेमा जोड दिए। प्रेस काउन्सिल नेपालको मूल्य, मान्यता र भावना अनुरूपको पत्रकारिता गनुपर्ने उनले सुझाव दिए।
कार्यक्रमका सभापति गोविन्दप्रसाद चौलागाईँले पूर्वाधार लगायतका विषयमा समाचार लेख्दै गर्दा देखा परेका समस्या र समाधानका उपायहरू पहिल्याउने उद्देश्यका लागि कार्यक्रम गरिएको बताए।
अर्जुनजंग थापा