मेलम्ची। जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ। ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा।
‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ गरेका छन्।
सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका छन्।
इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्छ। उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ। उनले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गरेका छन्।
व्यावसायिकरुपमा सञ्चालित फाममा उनले केही सहयोगीहरु राखेका छन्। तर पनि उनलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ। बिहानदेखि साँझसम्म उनलाई फार्ममै भेट्न सकिन्छ।
सशस्त्र प्रहरीमा कार्यरत उनले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोडेका हुन्। तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका छन्।
उनलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाएनन्।
‘म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे। कि आफै केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन”, उनले भने।
वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उनले नेपालमै केही गर्ने सोच बनाए। गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गरे। सामाजिक सञ्जालमा बढी चाख राख्ने उनले त्यहीँबाट बाख्रापालनका बारेमा जानकारी लिए।
गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिए। त्यसले पनि उनलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित ग¥यो।
सुरुमा एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गरे। उनको फाममा अहिले ३६ वटा बाख्रा छन्।
बाख्रासँगै उनले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा भैँसी र एउटा गाई पनि पालेका छन्। व्यावसायिक पशुपालनबाट अहिले मासिक ६०÷७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ।
करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उनको फाममा सात वटा टहरा छन्। हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उनले २४ लाख लगानी गरिसकेका छन्।
‘आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने ४० लाख लगानी भएको छ’, उनले भने। कतिपय आफैँले गर्नसक्ने कामहरु उनी आफै गर्छन।
जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गरेका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ। देशमा ‘अवसर’ नदेखेका युवाका लागि उनी प्रेरणाको स्रोत बनेका छन्।
उनले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिएका छन्। धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उनलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउँछन्।
‘उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु’, उनले थपे।
स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उनी बताउछन्। बाख्रा सँगसँगै कुखुराबाट पनि उनले राम्रो आम्दानी गरेका छन्। दश पटक ब्रोइलर कुखुरा बेच्दा ६ लाख फाइदा भएको उनको भनाइ छ।
बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उनी बताउँछन्। उहाँको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ। दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उनी सुनाउँछन्।
कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उनले लगाउँदै आएका छन्। आफूलाई खान पुग्ने तरकारी आफै लगाएका छन्। उहाँको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् ।
मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उनले बताए। व्यवसायमा उनलाई घर परिवारबाट राम्रो साथ र सहयोग छ। ‘हामी श्रीमान् श्रीमती मिलेर काम गर्छौं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ’, उनले भने।
सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उनले बताए। स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उनले जोड दिए।