Logo
१४ वैशाख २०८३, सोमबार

मन्त्री निवासलाई ‘पापी निवास’को उपमा, बाल मन्दिर बनाउन रविन्द्रको सुझाव

अक्षरपाटी
२०८३ वैशाख १४ , सोमबार १२:०४ मा प्रकाशित

काठमाडाैं। राप्रपा नेता रविन्द्र मिश्रले ललितपुरको भैंसेपाटीमा निर्माण गरिएका मन्त्री निवासलाई ‘पापी निवास’को संज्ञा दिँदै त्यसलाई बाल मन्दिर बनाउन सुझाव दिएका छन्।

नेपालजस्तो विपन्न देशमा जनसेवक मन्त्रीहरूलाई सरकारले यस्ता आलिसान निवास निर्माण गर्नु पापको पराकाष्ठा भएको जिकिर गर्दै उनले त्यसलाई दक्षिण एशियाकै नमुना बाल मन्दिर बनाउन सरकारलाई सुझाएका हुन्।

उनले समामाजिक सञ्जालमा लेखेका छन्, ‘गरिब देशका मन्त्रीहरूलाई एउटा बहू-तले अपार्टमेण्ट भवन भाडामा लिएर या बनाएर हरेक फ्ल्याटमा एक/एकजना मन्त्री राख्दा केही पनि फरक पर्ने थिएन। तर पापीहरूले पाप गर्न छोडेनन्। भदौ २४ गतेको बिद्रोहमा तिनका यी निवास सबै जलाइयो र मन्त्रीहरू ज्यान जोगाउन सेनको हेलिकोप्टरमा भाग्नु पर्यो।’

उनले प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णीम वाग्लेको ध्यानाकर्षण गराउँदै अगाडि भनेका छन्, ‘अब सरकारले फेरि त्यो पाप नगरोस्। यी भव्य संरचनालाई दक्षिण एशियाकै नमूना ‘बाल आश्रय’ मा रूपान्तरण गरियोस्। वरिपरी विशाल अग्ला पर्खाल छ। भित्र प्रशस्त खेल्ने ठाऊँ छ। स्वीमिङ पुल पनि छ क्यारे। सयौँ अनाथ बालबालिकाहरूलाई त्यहाँ आश्रय दिन, पढाउन र हुर्काउन सकिन्छ। राम्रो शिक्षा दिन सकियो भने अनाथालयमा हुर्केका/पढेका बालबालिका पनि रातो बंगाला, युलेन्स या बुढानिलकण्ठमा पढेका भन्दा कम हुँदैनन् भनेर देखाइदिऊँ। सबैलाई धर्म लाग्छ।’

रविन्द्र मिश्र