Logo
१२ वैशाख २०८१, बुधबार

चौतारी चिटिक्क पार्दै म्याग्दीका स्थानीय तह

अक्षरपाटी
२०७९ असोज १० , सोमबार ०५:०९ मा प्रकाशित

म्याग्दी। म्याग्दीका स्थानीय तह र समुदायका व्यक्ति पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अङ्ग मानिने चौतारी संरक्षणमा जुटेका छन्।

लेक–बेंसी,गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने चौतारी, गर्मीमा दौतरी बसेर शीतल हावा लिँदै गफिने र आनन्द लिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधि यस्ता सम्पदाको संरक्षणमा जुटेका हुन्।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट, बेनी नगरपालिका–७ बेनी, बेनपा–६, मालिका–२ बेली, मालिका–३ रुम, मंगला गाउँपालिकाको अर्मन, अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाका विभिन्न वडामा चौतारी संरक्षण अभियान नै सञ्चालन भएको छ।

गाउँघरमा मोटर बाटो लैजाने होडका कारण ग्रामीण जीवनको मौलिकता र त्यसबाट प्राप्त आनन्द दुवै हराउँदै गएपछि समुदाय नै चौतारी पोखरीको संरक्षण र नयाँ निर्माणमा लागेपछि अहिले यहाँका कैयौँ गाउँमा नयाँ चौतारी निर्माण गरिनुका साथै वर,पीपलसमेत लगाइएको छ।

भरियाको भारी बिसाउने ठाउँ, बटुवाको थकान बिर्साउने ठाउँ, युवायुवतीको माया प्रेम दर्शाउने ठाउँ, पाका व्यक्ति सुस्ताउने ठाउँ, गोठाला र फुर्सदिला व्यक्ति भेला भएर बागचाल खेली दिन बिताउने ठाउँ हो चौतारी।

मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारी बिर्सिंदै जान थालिएको अवस्थामा पुनःचौतारी संरक्षण अभियान सुरु भएपछि ग्रामीण क्षेत्रको सौन्दर्य मुस्कुराउन थालेको छ।

मान्छे हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्व कम हुन थाल्यो। तर चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने म्याग्दीको वातावरण संरक्षणकर्मी एवं वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रममणि सापकोटाले बताए।

त्यसैगरी धर्मप्रसाद उपाध्यायले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पीपलसँगै (नजिकै) रोपिने हुँदा वरपीपलको बीचबाट हिँड्न नमिलेर दाँहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा एवम परम्परागत चौतारोकोे विशेषता भएको जानकारी दिए।

म्याग्दीको बेनी नगरपालिका– ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले चौतारी संरक्षण र निर्माणका लागि गत आर्थिक वर्षमा वडा कार्यालयबाट करिब पाँच लाख बजेट नै विनियोजन गरेर वडाका १४ ठाउँमा चौतारी मर्मत र निर्माण गरिएको बताए।

त्यसैगरी बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बेनीबजारका विभिन्न ठाउँमा रहेका ऐतिहासिक चौतारीको पुनःनिर्माण गरेर चिटिक्क बनाएका छन्।

चाैतारी म्याग्दी
यो पनि हेर्नुहोस् : तातोपानीमा सडक बत्ती जडान