Logo
८ वैशाख २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

अक्षरपाटी
२०७९ असोज १२ , बुधबार ०७:०९ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका नेता कार्यकर्ताले विभिन्न माग राख्दै पार्टी केन्द्रीय कार्यालयमा सानेपामा धर्ना दिएका छन्।

सँस्थापन पक्षले बन्द सूचीदेखि टिकट वितरणमा एकलौटी गरिरहेको भन्दै उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको माग गर्दै आज एक घण्टा धर्ना दिएका हुन्।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक बन्दसूची तय गर्दा उचित तवरले नभएको बताए।

कांग्रेस पार्टी कार्यालयले भने सर्वसम्मतिले समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाइएको बताउँदै आएको छ। यद्यपि पार्टी सभापति शेरबहादुर देउवा भने बन्द सूची सच्याउन सहमत भएको एक नेताले बताए। तर पार्टीकै केही नेताहरुले भने सूची सच्याउन नहुने दबबा दिएको बताइएको छ।

मङ्गलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाएको बताएका थिए।

तर कोइराला पक्षले भने बन्द सूची न्यायोचित नभएको बताउँदै दबाब दिँदै आउको छ। कोइराला समूहले बिहीबार शीर्ष नेतासहितको छलफल बोलाएको छ। आजको धर्ना कार्यक्रममा भने शेखर कोइरालासहित शीर्ष नेता भने सहभागी थिएनन्।