



भोटेकोशी र त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत र पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा ४० लाख ८० हजार ८५० रुपैयाँ सहयोग गरेका छन्।
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।
बैंकका सञ्चालक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित ४० लाख ८० हजार ८५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष हस्तान्तरण गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको थियो।
त्यसैगरी, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ बराबरको सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको जनाएको छ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ।
प्रभु बैंक

