Logo
७ वैशाख २०८१, शुक्रबार

रातारात टिकट खोसिनुलाई गम्भीरतापूर्वक लिएको छुः मुख्यमन्त्री भट्ट

अक्षरपाटी
२०७९ असोज २४ , सोमबार १०:१० मा प्रकाशित

धनगढी। प्रदेश सभा सदस्यमा दोहोरिने तयारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्तिम समयमा आफूलाई विवादित बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्री भट्टले पार्टीभित्रको चलखेलले टिकट वितरणमा अनपेक्षित निर्णय भएको बताए।

‘केही दिनअघि मात्रै पार्टी अध्यक्ष प्रचण्डले मलाई प्रदेश सभाको तयारी गर्न भन्नुभएको थियो। त्यहीअनुसार मैले साथीहरूसँग छलफल र तयारी पनि अगाडि बढाएको थिएँ,’ उनले भने, ‘तर, अन्तिम समयमा मेरो परामर्शविना नै टिकट बाँडिनुलाई मैले गम्भीरतापूर्वक लिएको छु।’ मुख्यमन्त्री भट्ट लड्ने भनिएको डोटीको प्रदेश सभा क्षेत्र २ मा उनकै स्वकीय सचिव शिवसिंह ओलीले माओवादीबाट टिकट पाएका छन्।

भट्टले डोटीबाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्न चाहेका थिए। डोटी एकीकृत समाजवादीले लिने केन्द्रमा सहमति भएपछि माओवादीले उनको नाम समानुपातिकको सूचीमा राखेको थियो। भट्टनिकट एक नेताका अनुसार पछि समानुपातिकको सूची संशोधन गर्दै पार्टी नेतृत्वले उनलाई प्रदेशमा तयारी गर्न भनेको थियो।

प्रदेशमा दोहोरिने आफ्नो चाहना नभए पनि पार्टी नेतृत्वको निर्देशनअनुसार आफू अगाडि बढेको वेला अन्तिम समयमा आएर गरिएको अनपेक्षित निर्णयले आफूलाई मर्माहत बनाएको उनले बताएका छन्। पार्टीको निर्णय शिरोधार्य गरेर काम गर्ने इमानदार नेता, कार्यकर्ताविरुद्ध हुने यस्ता निर्णयले पार्टीलाई नै असर गर्ने उनको चेतावनी छ।