Logo
१६ चैत्र २०८०, शुक्रबार

नवलपरासी १ : चौधरी र त्रिपाठी आमनेसामने

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०२:११ मा प्रकाशित

नवलपुर ३० कार्तिक । आसन्न निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

संसदीय राजनीतिका चर्चित खेलाडी मानिने पुराना राजनीतिज्ञ त्रिपाठीले ०४८ को निर्वाचनपछि यस क्षेत्रबाट पाँचवटा निर्वाचनमा विजयी उम्मेदवार हुन्।

संविधानसभा सदस्य निर्वाचन ०७० बाहेकका सबै निर्वाचनमा विजयी हुँदै आएका त्रिपाठी ०७४ को निर्वाचनमा एमालेको चुनाव चिह्न सूर्यबाट विजयी बनेका थिए।

अहिले छैटौँ जितका लागि एमालेको साथ र सहयोगमा उनी चुनावी दौडमा छन्। त्रिपाठीले चुनाव जित्नकै लागि पार्टी र चिन्ह नै परिवर्तन गरेकोप्रति उनका समर्थकमा निराशा भने देखिन्छ। पार्टी, आस्था र सिद्धान्तभन्दा पनि चुनावलाई बढी महत्व दिएको रुपमा यहाँका मतदाताले बुझ्ने गरेका छन्।

उद्योगपति चौधरी भने संसदीय अभ्यासमा व्यावसायिक घरानाबाट प्रवेश गरेका हुन् । ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट र ०७४ सालको प्रतिनिधिसभामा कांग्रेसबाट समानुपातिक सदस्य बनेका उनी यसपटक गठबन्धनको सहयोगमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा चुनावमा छन्।

चौधरीले पनि दलबदल गरेको कतिपय मतदातालाई रुचेको छैन। यद्यपि देशकै धनाढ्यका रुपमा स्थापित चौधरीप्रति मतदाताका अपेक्षा भने धेरै छन्।

स्थानीय निर्वाचनको मत हेर्दा कडा प्रतिस्पर्धा देखिने यो क्षेत्रमा चौधरीले गठबन्धनको भर पर्नुपर्नेछ भने त्रिपाठीको हारजित एमालेबाट आउने भोटमा निर्भर हुने देखिन्छ।

अन्तिम समयमा एमालेको सहयोगमा चुनाव लडेका त्रिपाठी र उद्योगपति चौधरीको चुनावी प्रतिस्पर्धा अहिले जिल्लाका लागि मात्र नभई देशकै लागि रोचक बन्ने देखिएको छ।

एमालेका शीर्ष नेतामार्फत एमालेको उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गर्न लगाएका नेता त्रिपाठी अहिले पनि चुनावी बाजी मार्ने रणनीतिमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ११ वटा दलका उम्मेदवार र सात स्वतन्त्र गरी १८ जना चुनावी मैदानमा रहेको यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धा चौधरी र त्रिपाठीबीच नै हुने देखिन्छ।

तर दुवै उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवार भने चुनौतीका रुपमा देखिएका छन्। जनताको मत आफ्नो पक्षमा पार्न अहिले चौधरी र त्रिपाठी मतदाताको मन जित्ने अभियानमा घरदैलो गरिरहेका छन्।

त्रिपाठीले पटकपटक यस क्षेत्रबाट निर्वाचन जितेर केही पनि गर्न नसकेको भन्दै आफू विकासको एजेन्डा बोकेर मत माग्दै आएको चौधरीले बताउने गरेका छन्।

एमालेको समर्थनमा उम्मेदवार बनेका त्रिपाठी विगतमा आफूले गरेको कामको जस लिने र गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

त्रिपाठी एमालेको समर्थनमा निर्वाचनमा सहभागी भए पनि सूर्य चुनाव चिह्न नलिएका कारण यसपटक ०७४ को निर्वाचनमा जस्तो सजिलो अवस्था नरहेको बताइएको छ।

त्रिपाठीलाई जित निकाल्नका लागि एकातिर एमालेका कार्यकर्ताहरूलाई रिझाउन आवश्यक छ भने अर्कोतिर उनकै चुनाव चिह्नको प्रचारमा पनि थप समय खर्च गर्नुपर्ने देखिन्छ।

सत्ता गठबन्धनका उम्मेदवार चौधरीलाई त्रिपाठीको गढ भत्काउँदै कांग्रेसको झण्डा गाड्न निकै मेहनत गर्नुपर्ने देखिन्छ।

हालै सम्पन्न स्थानीय तहको चुनावमा नवलपरासी–१ मा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा जनता प्रगतिशील पार्टीको चार हजार ६ सय ८१ र एमालेको २६ हजार सात सय ७९ मत छ।

एमालेसँग तालमेल गरेको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) ले यस निर्वाचन क्षेत्रमा पनि एमालेकै उम्मेदवारलाई सघाउने जनाएको छ।

जसपाको मत तीन हजार पाँच सय ३९ छ । तीन दलको मत जोड्दा ३४ हजार नौ सय ९९ पुग्छ ।

सत्तारूढ गठबन्धनको यसक्षेत्रमा कांग्रेसको ३० हजार तीन सय ४२, नेकपा माओवादी केन्द्रको पाँच हजार तीन सय ४७, नेकपा एकीकृत समाजवादी को एक हजार एक सय ४१ र राष्ट्रिय जनमोर्चाको दुई हजार ६० गरी कूल ३७ हजार ९० मत छ। गठबन्धनको मत मात्रै भत्कन नदिने हो भने चौधरीलाई सहज हुने एकथारीको विश्लेषण छ।

यहाँ राप्रपाको ६ हजार ८७ र लोसपाको १०० मत छ।

नवलपरासी पश्चिमको क्षेत्र नं १ मा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका तथा सुस्ता गाउँपालिकाका सबै वडा र सरावल गाउँपालिकाका ४, ५, ६ र ७ वडा पर्दछन्।

स्थानीय तह निर्वाचन २०७९ मा सरावल गाउँपालिकामा एमाले तथा अन्य पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

यस क्षेत्रमा एक लाख १८ हजार दुई सय ५० मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीले जानकारी दिए।

विनोद चाैधरी हृदयस त्रिपाठी