Logo
२२ वैशाख २०८१, शनिबार

समिट अपार्टमेन्ट दुर्घटना : ‘ठूला’को बलमिच्याइँ

अक्षरपाटी
२०७९ चैत्र २७ , सोमबार ११:०४ मा प्रकाशित

काठमाडौं। काठमाडौं उपत्यकामा टहरो बनाउनदेखि बलेसी मिलाउन पनि वडाको अनुमति आवश्यक हुन्छ।

दुई तलाको घर बनाउने हो भने त वडादेखि नगरपालिकासम्म धाएर विभिन्न चरणमा स्थलगत निरीक्षणदेखि माटो परीक्षण र नक्सापाससम्मका प्रक्रिया मिलाउनपर्छ।

तर पूर्वमन्त्री रविभक्त श्रेष्ठ र नेपालका खर्बपति कांग्रेस सांसद विनोद चौधरीले समिट अपार्टमेन्टको सुरुवाती चरणकै स्वीकृति भने नलिएको पाइएको छ।

बलजफ्ती निर्माण अघि बढाएउनुको परिणाम पनि सार्वजनिक भएको छ। उनीहरुले स्रोत र शक्तिकै भरमा आधिकारिक निकायबाट प्रक्रिया नै नपुर्‍याई निर्माण थालेको कार्य रोक्न लिखित निर्देशन दिँदासमेत अटेर गरी एक्स्काभेटर लगायतका ठूला उपकरण प्रयोग गरेर जग खनेको भेटिएको हो।

ठूला बहुतले संरचना बनाउँदा भौगर्भिक अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्नुपर्छ। तर ललितपुरको बखुण्डोलमा समिट होटल रहेको ठाउँमा १७ तले अपार्टमेन्ट बनाउने क्रममा निर्माण कम्पनी एवं लगानीकर्ताले सुरुवाती चरणकै स्वीकृतिसमेत लिने आवश्यकता नठानेको पाइएको छ।

सरकारी निकायले इजाजतबिना संरचना निर्माणको काम रोक्न भन्दाभन्दै पनि अगाडि निर्माण्को काम अगाडि बढाएपछि असोजमै लिखित रुपमै चेतावनी दिएको थियो।

काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत ललितपुर जिल्ला आयुक्त सफल श्रेष्ठले २०७९ असोज २ गते अपार्टमेन्ट निर्माणका कुनै पनि काम अघि नबढाउन भनेका थिए।

त्यतिमात्र होइन अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए। पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा तहाँबाट ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १ र २ को पुरानो समिट होटल रहेको क्षेत्रमा प्लानिङ पर्मिट स्वीकृत नभई निर्माण कार्य सुरु गरेको जानकारी प्राप्त भएकोले उक्त निर्माण कार्य रोक्नुहुन तथा निर्माण कार्य नरोकी अटेर गरेको खण्डमा नियमानुसार कारवाही हुने जानकारी गराइन्छ।’

सरकारी नियामक निकायले निर्माण कार्य रोक्नू भन्दाभन्दै बलमिच्याइँ गर्दै काम अघि बढाउँदा शुक्रबार राति बखुन्डोल क्षेत्रमा ठूलो क्षति भयो।

जमिन भासिने र चिरा फाट्ने क्रममा २ वटा घर पूर्णतः ध्वस्त भएका छन्। अरु ६ वटा घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको छ।

सरकारी निकायमा जाने नाममा २०७८ माघ १९ मा योजना स्वीकृतिका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत ललितपुर जिल्ला आयुक्तसमक्ष निवेदन दिएको देखिन्छ।

समिट होटल प्रालिका तर्फबाट अध्यक्ष रविभक्त श्रेष्ठले निवेदन लेखेका छन्। निवेदनमा भनिएको छ, ‘यस समिट होटलको नाममा दर्ता कायम भएको ललितपुर महानगरपालिकास्थित वडा नं १ (ङ) र २ (ग) मा योजनाबद्ध विकसित घडेरी तथा सामूहिक आवास परियोजना निर्माण गर्नको लागि मापदण्डबमोजिम प्लानिङ परमिट पाऊँ भनी परियोजनाको गुरुयोजना तथा सोको नक्सा, सम्बन्धित जग्गाहरुको धनी प्रमाण पुर्जा, ब्लु प्रिन्ट, सहमति पत्र तथा सम्बन्धित वडाको सिफारिससमेत संलग्न राखी यो निवेदन पेस गरेको छु। अतः आवश्यक प्रक्रिया पूरा गरी प्लानिङ परमिट उपलब्ध गराइदिन हुन हार्दिक अनुरोध छ।’

पत्र गत वर्षको माघमा दर्ता गरिएको भए पनि उसले फिल्डमा काम भने त्यसअघि नै काम सुरु गरिसकेको थियो।

 

विनोद चाैधरी समिट अपार्टमेन्ट