Logo
६ वैशाख २०८१, बिहीबार

चिया पसलदेखि चोकचौतारामा चुनावकै चर्चा

अक्षरपाटी
२०७९ मंसीर १ , बिहीबार ०६:११ मा प्रकाशित

बागलुङ । मंसिर ४ गते हुने निर्वाचन नजिकिएसँगै बागलुङमा राजनीतिक चर्चा चुलिएको छ।

चिया पसलदेखि चोकचौतारासम्म चुनावकै कुरा हुने गरेको छ। यसपटक बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको बागलुङमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि अहिले चुनावमा होमिएको छ।

प्रतिनिधिसभामा गठबन्धबाट क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नम्बर २ मा शिक्षामन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल उम्मेदवार बनेपछि चारवटा प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार छन्।

त्यसमध्ये बागलुङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा उम्मेदवार छन्। उनीसँग नेकपा एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसी प्रतिस्पर्धा छन्।

अन्य तीन क्षेत्रमध्ये यस क्षेत्रमा थापा र केसीबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। जिल्लाका अधिकांश नेताको ध्यान यही क्षेत्रमा छ।

थापा र केसीले यसभन्दा अगाडि भएका विभिन्न निर्वाचनमा हार ब्यहोरेका छन्। त्यस कारण यसपालि दुवै जनालाई जित हात पार्ने चर्को दबाब छ।

०७० मा भएको संविधानसभा निर्वाचनमा पराजित भएका केसी र ०७४ को प्रदेशसभा सदस्यमा हारेका थापा यसपटक जित आफ्नो पक्षमा पार्ने दाउमा छन्।

अहिलेको निर्वाचनमा थापालाई पाँच दलीय गठबन्धनको साथ छ भने केसी एमालेको मात्रै भरमा छन्।

केसी त्यस बेला कांग्रेस नेता स्व हरि खड्कासँग पराजित भएका थिए। खड्काले एक हजार ६ सय मतान्तरले केसीलाई पराजित गरेका थिए।

दुर्घटनामा परी खड्काको मृत्यु भएपछि संविधानसभा उपनिर्वाचनमा उनकी पत्नी चम्पादेवी खड्काले एमाले नेतृ मनकुमारी केसीलाई पराजित गरेकी थिइन्।

त्यसयता यस क्षेत्रमा एमालेले आफ्नो संगठनलाई मजबुद बनाउँदै गएको छ। अघिल्लो निर्वाचनमा एमालेका नेता इन्द्रलाल सापकोटासँग पाँच हजार नौ सय २६ मतान्तरले पराजित हुनुभएका थापाले ११ हजार नौ सय ८९ मत पाएका थिए।

सापकोटाले भने १७ हजार नौ सय १५ मत प्राप्त गरेका थिए। त्यस बेला सापकोटालाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सघाएको थियो।

गत स्थानीय तहको निर्वाचन मत परिणामलाई हेर्दा गठबन्धन थोरै मतले अगाडि देखिन्छ।

बागलुङ पालिकाका ११ र काठेखोला गाउँपालिकाका आठ गरी १९ वडा यस क्षेत्रमा पर्छन् । त्यसमध्ये ६ वडा एमाले र १३ वडा गठबन्धनले जितेको छ ।

बागलुङ नगरपालिकाको १२, १३ र १४ नम्बर वडा प्रदेश (२) मा पर्दा थापालाई जित निकाल्न मुस्किल हुने धेरैले आँकलन गरिएको छ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनले १६ हजार ६१ मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार तीन सय ७० मत पाएको थियो। यो मत परिणामलाई हेर्दा गठबन्धन एक हजार ६ सय ९१ मतले अगाडि देखिन्छ।

यस क्षेत्रमा थापा र केसीसहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल चुनावी मैदानमा होमिएका छन्।

यस क्षेत्रमा ५० हजार पाँच सय ८० मतदाता रहेका छन्।

चुनाव बागलुङ