Logo
१४ वैशाख २०८१, शुक्रबार

बझाङमा जोशी–महर : कुनै समय सहकर्मी, अहिले सम्मानपूर्व प्रतिस्पर्धा

अक्षरपाटी
२०७९ मंसीर १ , बिहीबार ०२:११ मा प्रकाशित

बझाङ १ मंसिर। भोलिदेखि प्रचारप्रसार गर्न पाइने छैन। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

त्यसैले प्रचारप्रसारको अन्तिम दिन आज विकट जिल्ला बझाङमा चुनावी चहलपहल बढेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐनबहादुर महर र नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशी प्रतिस्पर्धामा उत्रिएका छन्।

जोशीलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको लोकतान्त्रिक–वाम गठबन्धनले साथ छ भने महरलाई पार्टीको मात्रै साथ छ।

लामो समय एकै पार्टीमा रहेर काम गरेका दुवै उम्मेदवार मङ्सिर ४ मा हुने निर्वाचनका लागि भने प्रतिस्पर्धी छन्।

एमाले बझाङका संस्थापकसमेत रहेका जोशी गत वर्ष एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीमा छन् भने महर राजनीतिको सुरुदेखि नै एमालेमै छन्।

एमालेमा साढे चार दशक समय बिताएका र अहिले एकीकृत समाजवादीबाट उम्मेदवार भएका जोशी छविस पाथीभेरा गाउँपालिकाका स्थायी बासिन्दा हुन।

एमालेमा साढे दुई दशकदेखि क्रियाशील महर जयपृथ्वी नगरपालिकाका स्थायीवासी हुन।

एमालेमा हुँदा विभिन्न सङ्गठन, पार्टीको जिल्ला नेतृत्व, प्रदेश, केन्द्र हुँदै मन्त्रीको पनि जिम्मेवारी पाइसकेका जोशी फेरि प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन्। उनी गठबन्धनको साथले हौसिएका छन्।

अनेरास्ववियुबाटै राजनीति सुरु गरेका महर अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएर पार्टीको केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन्। उनलाई पार्टीको मात्रै साथ छ।

दुवै नेता जिल्लाको परिवर्तन, विकास, सम्भावना तथा चुनौतीका बारेमा जानकार छन्।

एमालेमा रहँदा माधव नेपाल खेमामा देखिएका जोशी अहिले नेपालले नै नेतृत्व गरेको एकीकृत समाजवादीतिर छन भने ओली खेमाका महर एमालेमै क्रियाशील छन्।

स्कुले जीवनबाटै राजनीतिमा होमिएका दुवै जनाको जिल्लामा मात्रै नभई केन्द्रमा पनि लोकप्रियता उत्तिकै छ।

महरसँग युवापङ्क्तिको जमात छ भने जोशीलाई अनुभवी भन्दै युवा तथा प्रौढ उमेरका जनताको साथ छ। त्यसैले पनि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा जोशी–महरबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

राजनीतिक दल फरक भए पनि व्यक्तिको लोकप्रियताका कारण निर्वाचनमा पूर्वानुमान भने कठिन हुने राजनीतिक विश्लेषण गरिएको छ।

दुवै उम्मेदवार प्रतिस्पर्धी भए पनि एक अर्कालाई सम्मान भने उत्तिकै गर्छन। आफ्नै कार्यकर्ता अहिले प्रतिस्पर्धी हुनु लोकतन्त्रको सफल पक्ष भएको जोशी बताउँछन्।

भन्छन्, “प्रतिस्पर्धाको राजनीतिमा फरक दल भएपछि निर्वाचनमा भिड्नु स्वाभाविक पनि हो। ऐन महरहरू राजनीतिमा आउनु पनि स्वागतयोग्य कुरा हो।”

यता महर पनि फरक दलमा गइसकेपछि आफ्नै नेतासँग प्रतिस्पर्धा हुनु स्वाभाविक ठान्छन्। उनी भन्छन्, “कुनै बेलाका आफ्नै नेतासँग प्रतिस्पर्धी हुनुपर्ने रहेछ। फरक पार्टीमा गइसकेपछि स्वाभाविक पनि हो।”