Logo
६ चैत्र २०८०, मंगलबार

ओलीलाई बालेनको चेतावनी, भनेः कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला

अक्षरपाटी
२०७९ मंसीर १३ , मंगलबार ०७:११ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन्।

अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने प्रयास गरेपछि उत्पन्न तनावलाई लिएर ओलीले ‘सुकम्बासी बस्तीमा तमासा गरियो’ भन्दै आलोचना गरेका थिए।

महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत ओलीलाई जवाफ दिँदै बालेनले लेखेका छन्, ‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन।’ भन्दै ओलीलाई प्रश्न गरेका छन्।

मेयर बालेनले लामो स्टाटस लेख्दै भनेका छन्,‘सुकुम्वासीहरु तपाईँका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नुभयो। त्यो पनि राजनीतिक स्वार्थवश्। तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले बिरोध गर्नु असामान्य होइन।’

उनले अब परिस्थिति फेरिएकोमा सचेत गराउँदै भनेका छन्, ‘अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।