Logo
९ मंसीर २०८३, बुधबार

लैङ्गिक हिंसामा ‘शून्य सहनशीलता’ अपनाउन प्रधानमन्त्री शाहको आह्वान

अक्षरपाटी
२०८३ मंसीर ९ , बुधबार १०:११ मा प्रकाशित

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्न आह्वान गरेका छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पीडितको संरक्षण, दोषीमाथि कानुनी कारबाही र न्यायको सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै समान र न्यायपूर्ण समाज निर्माणका लागि यसको अन्त्य आवश्यक रहेको उल्लेख गरेका छन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित हुने गरेको बताउँदै उनले पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसा पनि चुनौतीका रूपमा थपिएको बताए।

प्रधानमन्त्री शाहले कानुनको प्रभावकारी कार्यान्वयनसँगै पीडितलाई न्यायमा सहज पहुँच, दोषीलाई कारबाही र पीडितको संरक्षण तथा पुनःस्थापना सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

सरकारले महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा लैङ्गिक हिंसा रोकथामका लागि कानुनी र संस्थागत व्यवस्था बलियो बनाउने कामलाई प्राथमिकता दिएको उनको भनाइ छ।

भोटेकोशी क्षेत्रमा गएको बाढीलाई स्मरण गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम झनै बढ्न सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरेका छन्।

१६ दिने अभियान सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, संघसंस्था, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताएका छन्।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको हो।

प्रधानमन्त्री शाहले अभियानले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

बालेन्द्र शाह