Logo
१३ माघ २०७९, शुक्रबार

बज्नै कम भए नौमती र ‘पञ्चेबाजा’

अक्षरपाटी
२०७९ पुस १ , शुक्रबार ०८:१२ मा प्रकाशित

ढोरपाटन। एक दशक अगाडिसम्म बागलुङका गाउँदेखि बजारसम्म विवाह, मेला, महोत्सव तथा शुभकार्यमा पञ्चेबाजा निकै बज्ने गर्थे। तर अहिले पञ्चेबाजा कम बज्न थालेका छन्।

गाउँघरमा पञ्जेबाजा बज्न छोडेपछि तिनका ठाउँमा ठूला–ठूला साउण्ड सिस्टम र स्पिकर बज्ने गरेका छन्।

युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तीमा आएका पञ्चेबाजा र नौमती बाजा बजाउने प्रचलन लोप भएका हुन्।

अचेल बाजा बजाउने प्रचलन हट्न थालेपछि बाजा बजाएर गुजारा चलाउँदै आएकाहरु समस्यामा पर्न थालेका छन्।

अहिले पढेलेखेका पुस्ताले बाजा बजाउन लाज मान्दा पञ्चेबाजा हराउन लागेको हो। सीमित जातिले मात्रै बजाउँदै आएको बाजा अहिले पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको बुढापाका बताउँछन्।

विशेष गरी परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोपहुँदै गएको उनीहरुको भनाइ छ।

बाजा बजाउने काम स्थायी पेसा नभएकोले हराउँदै गएको बागलुङ ढोरपाटनका पदमबहादुर दर्जीले बताए। शुभकार्यमा विदेशी बाजाले स्थान पाउँदा मौलिक बाजा हराउँदै गएको उनको भनाइ छ।

समाजमा अझै पनि कायम रहेको जातीय संस्कारका कारणले मौलिक बाजा हराउन थालेको र बाजा बजाएर गुजारा नचल्ने भएकाले पनि बाजा हराउन लागेको दर्जी बताउँछन्।

‘अहिले पनि हाम्रो समाजमा बाजा बजाउने जातीलाई हेप्ने, फरक नजरले हेर्ने गर्छन्, अहिलेका छोरा नातिहरुले बजाउन सिक्ने चासो दिँदैन, हामी र हाम्रो पूर्खाहरुले पढेनौँ, बाजा बजाएर कमाई खाइयो,’ दर्जीले भने, ‘नयाँ पुस्ताले बाजा बजाउन लजाउँछन्, बजाउन पनि जान्दैनन्, हाम्रो सासपछि त बाजा बजाउने चलननै सकिने भयो।’

उनले पहिले बाजा बजाउने एउटा समूहमा १०-१५ जनाभन्दा बढी हुने गरेको भन्दै अहिले नौँ जना पनि पुग्न मुस्किल हुने बताए।

सीमित मान्छेले नौमती बाजा बजाउन नसकिने जनाउँदै यसका लागि न्यूनतम नौँ जना हुनैपर्ने उनको भनाइ छ।

५८ वर्षीय दर्जी भन्छन्, ‘नौमती बाजा बनाउन कम्तीमा पनि नौँ जनाको समूह त हुनैपर्छ, नौँ जनाभन्दा कम भए बजाउन सकिँदैन, ताल मिल्दैन, अहिले टिम पु¥याउनै गाह्रो हुन्छ, बुढापाकाले बजाउन सक्न छोडिसके, हाम्रो उमेरका कम छौँ।’

स्थानीय बिर्खबहादुर परियारले युवापुस्ता प्रतिष्ठा, पारिश्रमिक र स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको बताउछन्।

पछिल्लो समय गाउँघरमा पहिले जस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण नदेखिने उनको भनाइ छ। पाकापूर्खाको पेसा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको उनको अनुभव छ।

‘मैले जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेको थिए, अहिले त हातखुट्टा चल्न छोडे टाढा–टाढा पुगेर बजाउन सक्दैन, आँखा पनि कमजोर भए,’ ७७ वर्षीय परियारले भने, ‘पहिले त कसैको बिहे, छैँटी, भातखुवाई हुँदा बाजा बजाउन जान्थ्यौँ, अहिले त बिवाहामा पनि गीत बजाएर नाच्न थाले, बाजा त कमै ठाउँमा मात्रै बज्छन्।’

पछिल्लो समय परियार समुदायका व्यक्ति पनि शिक्षित हुँदै गएको र बाजा बजाउने पेसालाई नकरात्मक रुपले सोच्ने गर्दा पञ्चेबाजा सङ्कटमा परेको उनको भनाइ छ।

उनले बाजा बजाएर परिवार पाल्नसक्ने अवस्था नहुँदा बाजा बजाउने सीप भएका युवा विदेशीन बाध्य भएको बताए। बाजा संरक्षणका लागि सबै क्षेत्रबाट पहल हुन जरुरी रहेको बताए।

‘पञ्चेबाजा त हाम्रो संस्कृति हो, ठूलो सम्पत्ति हो, यसलाई बाजा बजाउने समुदाय र सरकारले पनि चासो दिनुपर्छ, अहिलेको रुपमा बाजा बजाउने समुदायप्रति हेरिने हेराइ फेरिएन भने पछिका हाम्रा पुस्ताले पञ्चेबाजा देख्ना र सुन्न पाउँदैनन्, मलाई त निकै चिन्ता लागेको छ, अहिले त बाजासँग मादल पनि देखिन र बजाउन छोडि सके,’
स्थानीयवासी मुरारी नेपालीले बाजा बजाउन छोडेपछि परिवार पाल्नसमेत गाह्रो हुने अवस्था आएको बताए।

नेपालीले गाउँमा विवाह, व्रतबन्ध र मेला महोत्सव हुँदा बाजाको सट्टा स्पिकर बजाउन थालेपछि आफूहरुको पेसा सङ्कटमा परेको गुनासो गरे।

उनले पहिले बाजा बजाएर मासिक ३० हजारभन्दा बढी आम्दानी गरेको हुनाउँदै अहिले दुई हजार पनि कमाई नहुने बताए।

‘अहिले त बाजा बजाउन कसैले पनि बोलाउँदैनन्, बोलाए पनि बजाउने मान्छे छैनन्, पहिले बाजा बजाएरै परिवार पाले, छोराछोरी पढाएँ, अहिले कमाइ केही छैन, परिवार चलाउन गाह्रो होला जस्तो छ’, नेपालीले भने, ‘पहिले त बाजा बजाउँदा बजाउँदा घरको काम गर्ने फुर्सद हुँदैनथ्यो, धेरै समय भयो मैले बाजा बजाउन छोडेको, हाम्रा पूर्खाले चलाएको चलन हराउँदा दुःख लागेको छ।’

नौमती