Logo
१३ माघ २०७९, शुक्रबार

भोग्न नपरोस् यस्तो नियति कसैले

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार ०४:१२ मा प्रकाशित

काठमाडौं ६ पुस। इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग १५ हजार कमाउँछिन्।

यही आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छन्। श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक छाक खानकै लागि बदाम व्यापार गर्दै आएकी छन्। उनले ५० वर्षदेखि काठमाडौंको विभिन्न स्थानमा बदाम व्यापार गर्दै जीविकोपार्जन गरिरहेको बताएकी छन्।

तीन वर्षको उमेरदेखि नै राजधानी आएकी उनी हाल भक्तपुरको बाल्कोटमा बस्दै आएकी छन्। आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी रही आएकामा उनी ११ वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन्।

वैवाहिक बन्धनमा बाँधिएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि यस्तै व्यापार गर्दै आएको उनले बताइन्। एक छोरा, एक छोरीको आमा भएकी उनले २९ वर्ष अगाडि श्रीमान् गुमाउनुपरेको थियो।

भन्छिन्,‘बदाम एकैचोटि भण्डारण गर्न गाह्रो पर्ने भएकाले प्रायः हरेक दिन बिहान ४ बजे उठेर कालीमाटी जाने गरेको छु । दैनिकजसो एक पाथी बदाम करिब तीन सय ३० मा किनेर आफूले ल्याउने र त्यही बेचेर आफ्नो एक्लो जीविकोपार्जन चलाएकी छु ।’

टुँडिखेलको वरिपरि १४ वर्षसम्म बदाम र अन्य खानेकुरा व्यापार गर्दै आएकी उनको अहिलेसम्म त्यही व्यवसायबाटै जीविका चल्दै आएको छ।

जाडोयाममा कात्तिकदेखि फागुनसम्म बढी मात्रामा बदाम बिक्री हुने र अरू याममा भने चाउचाउ, बिस्कुट लगायतका सामान बेच्दै आएको उनले बताइन्। समग्रमा प्रायः दैनिक पाँच सय वरिपरि आम्दानी गर्दै आएको उनले सुनाइन्।

बदाम बेच्नुअघि रत्नपार्कभित्र व्यापार गर्दै आएकामा त्यहाँ प्रवेशका लागि शुल्क सहितको टिकट व्यवस्थागरिएपछि महानगरपालिकाको डरैडरमा बाहिर व्यापार गरेको उनले सुनाइन्। कोहीकोही महानगरपालिकाका कर्मचारीले आफ्नो संघर्ष बुझेकाले बूढी आमालाई सानो व्यापार गर्न छोडिदिऊँ भन्ने गरेको उनले सुनाइन्।

छोराको साथ नपाएकी उनले आफ्नै छोराछोरी हुदाँहुँदै पनि बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएको दुखेसो गरिन्। जिन्दगीमा धेरै संघर्ष गरेको र आफ्नो दुःख आफ्नै लागि भएको उनको बुझाइ छ।

त्यस्तै टुँडिखेलको बाहिर बदाम व्यापार गर्दै आएकी रसुवा स्थायी ठेगाना भई हाल नरदेवी बस्दै आएकी सुनिता कार्कीको पनि जीवन कथा उनको जस्तै छ।

श्रीमान् गुमाएपछि १२ वर्षसम्म बदाम र अन्य सामानको सानो व्यापार गरेर मासिक १२ हजार आम्दानी गर्दै आएकी छन्। सानै उमेरमा छिमेकीले काठमाडौँ ल्याएका र यहीँ आफ्नो जीवनयापन हुँदै आएको उनले सुनाइन्।

भनिन्, ‘श्रीमानको साथ गुमाएपछि जीविकोपार्जन गर्नका लागि बदाम व्यापार रोजेँ। आफ्नो व्यापार गर्नुको पीडा आफैँसँग छ, पहिलेको समयमा व्यापार गर्न सजिलो थियो अहिले महानगरले सानो व्यापार पनि गर्न दिँदैन। खान त एक छाक खाने हो, कोठाभाडा तिर्नका लागि नै यो कष्ट गरेकी हुँ।’

टुँडिखेलभित्र सफासुग्घर गर्दै २४ वर्षसम्म बदामलगायत अन्य सामानको व्यापार गर्दै आएकी काभ्रेपञ्लानचोक घर भई हाल लगनचोकमा बस्ने रमिता तिमिल्सिना (नाम परिवर्तन) दिदीले गाउँमा गरेको व्यापार देखेर विवाहपछि काठमाडौँ आएर यो व्यापार सुरु गरेको बताउँछिन्। दुई छोरा र श्रीमान् भएकामा श्रीमान् पनि काठमाडौंमा सानोतिनो जागिर गर्दै आएको उनले सुनाइन्।

जेठा छोरा स्नातकमा र कान्छा छोरा ११ मा अध्ययनरत रहेको रमिताले सुनाइन्। छोराहरुको पढाइ खर्च, कोठा भाडालगायत आफ्नो जीविकोपार्जन यही व्यवसायबाट औसतमा चल्ने उनको भनाइ छ।

आफूमात्र होइन आफ्नै छिमेकीमा रहेका अशक्त एक व्यक्तिलाई पनि टुँडिखेलभित्र व्यापार गर्न सिकाउनुभएको छ । गेटको नजिकै निश्चित स्थानमा बस्दै आउनुभएको उहाँले बिक्रीका लागि लिएर आएको पानी, बदामलगायत टुँडिखेलभित्र टाढाटाढासम्म पु¥याउन पठाउने र आएको आम्दानी बाडँफाँट गर्ने गरेको बताउनुहुन्छ । उक्त व्यक्ति अशक्त रहेकाले औषधी उपचारका लागि केही सहयोग जुटोस् भन्ने हेतुले व्यापारमा सहजीकरणका साथै व्यक्तिगत जीवनका लागि सहयोगसमेत गर्दै आउनुभएको छ ।

बदाम व्यापार टुँडिखेल क्षेत्रमा मात्रै होइन, गाउँघरदेखि बजारका चोकचोकसम्म उत्तिकै व्यापार हुँदै आएको छ । व्यापार गर्न सहज हुनाले र चिसोयाममा बदामको माग धेरैै हुनाले धेरै व्यापारीहरु बदाम व्यापारमा आकर्षित भएका छन् ।