आत्महत्या दुरुत्साहनको मुद्दा खेपेर राजनीतिमा आएका गृहमन्त्री रवि लामिछानेले परिवारलाई आश्वासन दिए झैं तिनीहरु विरुद्ध दुरुत्साहनको आरोपमा अनुसन्धान गर्न, गराउन सकून्। र, दोषीलाई कठघरामा उभ्याउन।
० प्रमोद न्यौपाने
आफ्नै बलबुतामा गरी खाने उपाय सकिएपछि इलामका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउँदा प्रधानमन्त्री पुष्पकमल दाहालको कारगेड छेउबाटै हुँइकिदै थियो । संयोग या योजना, प्रधानमन्त्रीकै सामुन्ने जलेर प्रेमले सत्ता र शासकको मुहारमा मोसो पोतिदिएका छन्।
आफ्नो शरीरमा पेट्रोल छर्किन मात्र नसकेका तर आफ्ना सपना र रहरको आत्मदाह गरिसकेका प्रेमहरु धेरै छन् यो देशमा।
एउटा प्रेमको दुस्साहसमा अनेकौं प्रेमहरु लामवद्ध नहुन् भन्ने कामना गर्नुअघि परिवार, समाज र देशमा आमूल परिवर्तनको खाँचो छ।
देशमै केही गरौं भन्नेका लागि न टेक्ने खुड्किलो छ न समाउने हाँगो। सानो काम गरौं समाजले हेप्छ। ठूलो गरौं सामथ्र्य छैन। केही सीप नचलेपछि मुग्लान भासिनुपर्ने बाध्यता छ। दुई, चार पैसा जोहो गरेर स्वदेश फर्किएकाहरु इलम गर्न त चाहान्छन् । तर, वातावरण छैन्।
प्रेमप्रसाद आम युवाका प्रतिनिधि पात्र हुन्। जसले आफ्नै खुट्टामा उभिन खोजे। इलम थाले। तर, पाइला–पाइलामा ठेश लागिरह्यो।
यो समाज र बजार व्यवस्थाले उठ्नै नसक्ने गरी थिचिरह्यो। परिवार अविश्वासी भयो। भरथेग गर्नु पर्नेहरु पराई भए। संसारै अध्यारो देखेपछि प्रेमले आत्मदाहको बाटो रोजे। राज्यले प्रेमलाई उज्यालो देखाउनै सकेन।
यो देशको राजनीतिले व्यवस्था बदल्यो। तर, बदलेन नागरिकको अवस्था। हजारौं प्रेमहरु अवस्था बदलिएको हेर्न आतुर छन्।
तर, सत्ता र शासक त्यो दिशामा छैनन्। एउटा यूवाले आफ्नै शरीरमा आगो झोस्दा पनि यहाँ सत्तालाई पोलेको छैन। सडकलाई दुखेको छैन। केही थान मान्छे कराएको भरमा बदलिन्न देश र नागरिकको अवस्था। बरु, जलिरहनुपर्ने छ प्रेमहरु।
प्रेमले जाँदा–जाँदै यो देशको मुखुण्डो उतारिदिएका छन्। शासन–सत्ताको कुरुप रुप देखाइदिएका छन्। बेथिती र विकृतिको चाङ उधिनिदिएका छन्।
यो देशमा व्यापारिक घराना, बित्तीय संस्था र सरकारी निकायले साना उद्यमीको कतिसम्म हुर्मत लिँदा रहेछन् भन्ने तथ्य प्रेमले उजागर गरिदिएका छन्। शासकले सुधार चाहान्छ भने गर्ने ठाउँ र काम देखाइदिएका छन् उनले।
भन्ने गरिन्छ, राज्य क्रुर व्यापारी हो। तर, यही क्रुरताबाट माथि निस्किनका लागि त नागरिक आन्दोलनले यत्रा परिवर्तन सम्भव भए। के नागरिककै बलमा प्राप्त सफलतापछि पनि यो राज्य प्रेमले ठाने झैं नागरिकसँग क्रुर व्यापारी नै बनिरहने हो ?
बाँच्न पाउने संवैधानिक हक छ। प्रत्येक नागरिक सम्मानपूर्वक बाँच्न पाउनुपर्छ। राज्यले वातावरण बनाइदिनुपर्छ।
हत्या गर्नु अपराध हो, त्यो आफैमाथिको किन नहोस्। अझ, आत्महत्याका लागि दुरुत्साहन गर्नु पनि अपराधै हो। प्रेमको सन्दर्भमा भन्ने हो भने उनीमाथि त संस्थागत दुरुत्साहन भएको छ।
प्रेमले फेसबुक नोटमा उल्लेख गरेका घटना, सन्दर्भ र पात्र हुन्, दुरुत्साहनकर्ता। चाहे तीं कलेज हुन्, चाहे व्यापारिक मल, या हुन बैंक।
आत्महत्या दुरुत्साहनको मुद्दा खेपेर राजनीतिमा आएका गृहमन्त्री रवि लामिछानेले परिवारलाई आश्वासन दिए झैं तिनीहरु विरुद्ध दुरुत्साहनको आरोपमा अनुसन्धान गर्न, गराउन सकून्। र, दोषीलाई कठघरामा उभ्याउन।
सन्दर्भ र घटना दुखद् भएपनि प्रेमको वकपत्र शासकका लागि मार्ग निर्देशन हो। र, आम युवाका लागि अवस्था सुधारका लागि दबाब दिने मार्गचित्र।
प्रेमले उठाएका समस्या समाधानमा शासन–सत्ता गम्भीर भयो भने अरु प्रेमहरु गरी खाएरै बाँच्न पाउँनेछन् यो देशमा।
(हिमालयन टिभीका सम्पादक न्याैपानेको फेसबुकबाट)