Logo
११ वैशाख २०८१, मंगलबार

कथा: अधुरो प्रेम

अक्षरपाटी
२०७९ माघ १६ , सोमबार ०२:०१ मा प्रकाशित

० कल्याणी तिमल्सिना

सहरबाट केहि किलोमिटर टाढा धुलिखेल निकै सुन्दर र मनमोहक थियो । गाउँको सुन्दरतासँगै त्यहाँका मानिस पनि निकै स्वाभिमानी र भलादमी थिए।

लाग्थ्यो उनीहरूको यो बेग्लै संसार हो। यही सुन्दर गाउँमा एउटी सुन्दर नानी थिइन्। आफ्ना बुवा आमाका साथमा। उनी असाध्यै सुन्दर र मायालु थिइन। मानौ भगवानले उनलाई बनाउने बेला निकै समयलगायर मेहनतका साथ बनाएका हुनुपर्छ ।

समय बित्दै गयो। तीं नानी ठूली हुँदै गइन्। जब १० वर्ष पुगेर ११ मा प्रवेश गरिन् तब रजस्वला अर्थात मासिकधर्मको प्रक्रियामा पुगिन्।

प्रकृतिको नियम हो, हरेक प्राणीजगत समयक्रमसँगै परिपक्व हुन्छ । उनी पनि बन्दै गइन। बुवा आमा र समाजले नै देखिने गरेर।

उनको मनमा डरसँगै उत्सुकता र उल्लास पनि छाएको स्पष्टै हुन्छ। एउटा नितान्त नयाँ जीवनले पर्खिरहेको छ। जीवनमा आउने परिस्थिति कस्तो होला थाहा छैन रु

आमाबुबाको काखमा खेल्दाखेल्दै विस्तारै अब उनले समाजभित्र रहेका गिद्दे नजरहरुबाट पनि आफूलाई जोगाउने दिन आइरहेका थिए।

घरकी नानी अब आफ्नै नाम बाट चिनिने भएकी छिन। जीवनमा अब आफै केही गर्नुपर्छ र चिनिनु पर्छ भन्ने सोचसहित उनी उच्च शिक्षालाई अगाडि बढाउन कम्मर कसेर तयार भइन्।

बान्की परेको सुन्दर अनुहार, सजल गहिरा आँखा, लामो रेशमी कपाल, सरलक्क परेको जीउडाल, जनन गरेर बनाएजस्ता हातका सुकोमल औँला अनि त्यसमाथि रातो पहिरन ।

-कथाकार

अहो रु त्यसमाथि हिल भएको जुत्ता लगाएर क्याम्पस पुग्दा त सबैको नजर उनीतिरै मोडिन्थ्यो। सबैको मुखमा वा रु क्या दामी अप्सरा रु को हुन ? कस्की छोरी हुन् ? भन्दै उनी ओझल नपरुन्जेल एकोहोरो हेरिरहेन्थे केटाहरू।

तर यो कुराले उनलाई कत्ति पनि फरक पार्दैन थियो। किनकी यो पहिलोपटक भोग्नुपरेको दृश्य थिएन र होइन। उनी यतिखेर १७ टेकेकी थिइन।

नराम्रो मान्छे पनि राम्रो देखिने उमेर थियो यो। तर उनी त अप्सरा नै थिइन।

अब क्याम्पस आउजाउ गर्दा बाटोमा निरन्तर एउटा मान्छेसँग भेट हुन थाल्यो। त्यस अन्जान मान्छेसँग टाढिने हजार कोसिस गर्दागर्दै पनि उनी ती मान्छेसँग नजिकिन पुगिन्।

यद्यपि उनलाई ती मान्छेको नाम थाहा छ, न थर, न त घर नै। र पनि एकान्तमा उसलाई आफ्नो सम्झनामा समेटेर एक्लै रम्न रमाउन थालिन रु सायद यो माया थियो वा उमेरको उक्साहट, समयले बक्ने नै छ।

अब भने सुरु भए कठिनाइका दिनहरू । ठूलाठूला सपनाहरूको सुनौलो भारी बोकेर उच्च शिक्षा लिन हिँडेका ती पाइलाहरु अब अन्तैअन्तै मोडिन कोसिस गर्दै थिए। जसलाई रोक्ने कोहि थिएन।

उन्मत्त उमेर सवार छ साथमा। उनलाई अन्जान ब्यक्तिको लत बसि छाड्यो । ती व्यक्ति अब परिचित भए हरतरहले!

दीपक धनी थिए। समयक्रमले धेरै नै नजिक ल्याइदिएको थियो। उनले एकदिन अनायासै बिहेको प्रस्ताव राखे। ती सुन्दरी चकित परिन रु हेरिमात्रै राखिन उसलाई एकटकले।

दीपकले के भनेको होला भनेर अलमल र असमञ्जसमा परिन। अनि टोलाएर हेरिरहिन एकटकले रु उनको दिमागमा धेरैकुरा सल्बलाए। अनेक प्रस्नहरू उठे। त्यसको समाधान पनि अनेकन उब्जिए दिमागमा।

तब अलमल, असमञ्जस, प्रश्न र सवालहरु अनि समाधानको खैलाबैला नै चल्यो उनले दिमागमा । उनी जुरुक्क उठिन् र बाटो लागिन् त्यहाँबाट । बेल्दै नबली । पछाडि फर्केर पनि नहेरी । सदाको लागी टाढा भइन। सम्बन्ध जुन हुर्कँदै थियो, टुट्यो सदाको लागि।

समय बित्दै गयो । धेरै पर पुगे पनि सम्झना कहाँ टाढिँदो रहेछ र! उसैको यादले पो मनमा खुलदुली मचाउन थाल्यो। बिर्सन हजार कोसिन गरिन्, सम्भव भएन। उसको विनम्रताले गाँजी छाड्यो।

सुन्दरी फेरि उसलाई भेट्ने आशा लिएर हिँडिन्। उसलाई खोज्न निस्कइन्। तर उनी निस्कँदा समय निकै पर पुगिसकेको थियो। हराएको चीज खोज्न निकै बेर भइसकेको थियो। उनले नै त छोडेकी थिइन।

तब त कहाँ भेटिन्थो सजिलै दीपक । खोज्ने क्रममा निकै दुःख पाइन्। धेरै सकस झेलिन्। सजिलोसँग पाएको माया आज फेरि भेट्टाउन निकै कष्ट गर्नुपरिरहेको थियो।

यसमा कुनै रहस्यमय कुरा अवस्य र पक्कै थियो होला ! आफूले सक्नेजति कोसिस गरे पनि उनले दिपकलाई भेटिनन्!

समय कसका लागि पो पर्खिन्छ र ! समयक्रमले उता घरमा बिहेको कुरा चल्यो। बिहे रोक्न अनेकौं कोशिस र हारगुहार गरिन, तर सफल भइनन्। बाआमाको कुरा मानेर बिहे गरिन्। दीपकलाई भेट्ने आशा पनि त उनीसँग अब बाँकी थिएन।

उनको घर राम्रोसँग चलिरहेको छ। भगवानको कृपा छ। एउटा सुन्दर छोरा जन्मिसकेको छ। सबै सोचेजस्तै भएको छ। सबै खुशीखुशीसँग रमाइरमाइ बसेका थिए।

अचानक एक दिन सुन्दरीको मोबाइलमा यसएमएसको संकेतको धुन बज्छ। सुन्दरी पढ्छिन। लेखिएको हुन्छ:-
‘नानु कस्तो छ हजुरलाई ?’

यो शब्द देख्नासाथ ती सुन्दरी निद्राबाट बिउँथिए झैँ हुन्छिन्। उनी तीं शब्दको शैलीसँग परिचित थिइन्। हेर्नेवित्तिकै उनी थाहा पाइहाल्छिन्, त्यो म्यासेज दीपकको हो।

किनकि यो १३ वर्षमा सुन्दरीलाई कसैले नानु भनेर बोलाएको छैन। दीपकले मात्र यो शब्दको प्रयोग गर्ने गरेको थियो। उनी असमञ्जमा परिन्।

उनलाई म्यासेजको जवाफ दिन आँट आएन । किन कि उनको सिउँदोमा कसै अरुकै सिन्दूर र काखमा छोरा थियो। अब के लेखूँ के बोलूँको अवस्थामा पुगिन्।

खोज्दाको अनेक हन्डर र त्यो प्रिती बसेको समयका सम्झनाहरु, जो मनमा उकुसमुकुस भएर भएर संलागिएका शब्द थिए। उनले लेखिनः

‘हजुरलाई निकै खोजें कहीँ भेटिन ! तब बाआमाले बिहे गरिदिनु भयो!’
भन्दै रोएको इमोजी पठाइन ।
सँगै लेखिन- ‘मसँग मेरो छोरा पनि छ ?’
दीपकले जवाफ दिए- ‘हजुर खुसी हुनुहुन्छ नि ?’

जवाफमा लेखिन- ‘खुसी त थाहा छैन सुखी चाहीँ छु। संसारको सुन्दर फूल मेरो काखमा खेल्दै गरेको छ !’

अब बल्ल सोधिन्- ‘हजुरको घरमा को को हुनुहुन्छ नि ?’
दीपकको जवाफ आयोः-
‘बाबा बित्नु भयो, आमा एक्लै हुनुहुन्छ। मेरो मन, मुटु, कल्पना र सिंगो जीवनभर आज पनि हजुर हुनुहुन्छ !’

सुन्दरीका आखामा आँसु छचल्किए। लेख्ने कुरा एसै थिएन, अब शब्द पनि निशब्द बने !!!

र पनि उनले लेखिनः- ‘भगवानले हाम्रो भेट खोजेको बेला किन गराएन थाहा छैन? अहिले भेट किन गरायो त्यो पनि थाहा छैन, नदीको दुई किनार भएको छ हाम्रो सम्बन्ध !’

जवाफमा आयो- ‘यो जुनीमा हजुरलाई बाहेक अरूलाई आफ्नो मनमा अटाउन सकिन यो हातले अरूको हात छुनै सकेन। माफ गर्नु हजुरलाई बाहेक अरूलाई सोच्नै सकिन यो जुनी हजुरको यादमा अर्को जुनी हजुरको साथमा।’

सुन्दरीले वाक्य निर्माण गर्न सकिनन्। आँखालाई समुन्द्र बनाएर सम्झिरहिन!

मनमा यी शब्दाम्स उठीरहे अमर भएरः- ‘पहिलो प्रेम सायद सबैको जीवनमा निकै महत्वपूर्ण हुँदोहोला। मेरो पनि भयो। पहिलो प्रेम सदैव अधुरो नै रहन्छ सायद। मेरो पनि भयो। प्रेम हासिल गर्ने कुरा हैन रहेछ,अनुभूतिको संगालो पो हो रहेछ, अधुरो प्रेम जीवन जीउने मीठो सपना रहेछ। त्यही सपना स‌गालीरहेकी छु, अचेल !!!’