० लीला अनमोल
किन हो आजको यो बिहान
प्रिय लागेन मलाई
छोएन मन पारिजातको सुगन्धले
पातमा शीत अडेको दृश्य
मन परेन पटक्कै
मन परेकै छैन यो प्रकारको आगमन पनि
किन छुन्छ है बेसरम
प्रखरताले मेरो अङ्ग अङ्ग
उज्यालो डाकेर भालेको आवाज
अँध्यारो घोलेको सङ्केतजस्तो लाग्छ
बगैंचामा कराएको चरीको सङ्गीतले
किन छुँदैन मेरो मन आज ?
मुटु तीव्रतामा धड्किरहन्छ उकुस–मुकुस
रेडियोबाट प्रसारित भजनमा
गुन्जिएको बाँसुरीको धून
किन अप्रिय लाग्छ मलाई ?
हाँस्न खोज्दैनन् ओठहरू
सोच्न सक्तैन मस्तिष्क
सडकमा कुदिरहेको मालबाहक ट्रकजस्तो
भारी भएको छ शरीर
काखमा खेलिरहेको बच्चाको तोतेबोली पनि
दिग्दार लाग्दो लाग्छ किन ?
एउटा अनौठो हलचल
एउटा विचित्र कोलाहल
र एउटा उकुस–मुकुस पनि
यसैगरी आइरह्यो छातीभरि–भरि
अनुभूति पीडामा अनुवाद भएपछि थाहा भो
आज बिहानै
उसको दुर्गन्धित श्वास मिसिएर
हावाहुरी
फैलिएर गएछ मेरै वरीपरि।
000
लीला अनमोल