Logo
१५ वैशाख २०८१, शनिबार

फैसला आउनुभन्दा आधा घण्टा अघि के गर्दै थिए रवि ?

अक्षरपाटी
२०७९ माघ १९ , बिहीबार ०५:०२ मा प्रकाशित

हामी पनि नेताको फेर समातेर, आफै केही गर्न नसकेर   सचिवालय पुगेका थिएनौ। रवि दाइकोजस्तै मुलुक परिवर्तन गर्ने आकांक्षाकै कारण गएका थियौँ। छोटो समयमै रवि दाइ त्यो बाटोमा अगाडि बढिरहनुभएको थियो।

० प्रतिभा रावल

लेखक

म जागिर खानका लागि रवि दाइको सचिवालयमा सामेल भएकी थिइन। उहाँमा पहिलेदेखि नै समाज र देशका लागि केही उदाहरणीय काम गर्ने हुटहुटी देखेकै कारण उहाँलाई सहयोग गर्न र मुलुक सुधार गर्ने उहाँको प्रयासलाई सघाउन सक्छु कि भनेरै एक हप्ता अघि गृह मन्त्रीको निजी सचिवालयमा सामेल भएकी थिएँ।

हामी पहिलो दिनदेखि नै कसरी प्रविधिको प्रयोग गरेर सचिवालयले गृह मन्त्रीलाई आफ्नो काम अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गर्न सहयोग गर्न सकिन्छ भनेर हामी काममा लागिसकेका थियौँ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा हामी पूर्ण रूपमा जानकार थियौँ तर यति अनपेक्षित फैसला आउला भन्ने हाम्रो आकलन भने थिएन।

मैले फैसला आउँदाको बखतका बारेमा यो लेख लेख्दै गर्दा यसलाई नेपाली समाजको एउटा वर्ग, विशेष गरी आफूलाई विद्वान ठान्ने सहरी सभ्रान्त वर्गले रविको चाकरी गरेको, सहानुभूतिको राजनीति गर्न खोजेको आदिइत्यादि भन्न सक्छ ।

त्यो जान्दा जान्दै पनि यो विवरण लेख्न किन जरुरी ठाने त मैले ? किनभने म आम सर्वसाधारणलाई यो थाहा होस् भन्ने चाहन्छु कि रवि लामिछाने त्यस्तो अहम् मुद्दाको फैसला भइराख्दा पनि कसरी निश्चिन्त आफ्नो काममा लागिरहेका थिए। रवि दाइलाई कामको चिन्ता थियो, रवि दाइलगायत हामी काममै थियौँ।

गत शुक्रबारको दिन हामी सबैका लागि अरू दिन जस्तो भएन। अलिक फरक बनेर आयो। पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने अर्थात्र रवि दाइको विवादित नागरिकताबारे फैसला आउने दिन भएकोले हामी सचिवालयका सदस्यहरूबीच के होला भन्ने केही कोतुहलता थियो। यद्यपित हामी हामी मन्त्रालय आउनासाथ आफ्नो दैनिक काममा लागिपरेका थियौँ।

आम जनतालाई लाग्न सक्छ रवि दाइ त्यो दिन के गर्दै थिए होला? कतै सधैँ अन्य राजनीतिक तत्त्वहरूको मुद्दा चल्दा सुनिँदै आएको मिलाउने दौड धुप मै थिए कि ?

तर, सबैले अनुमान लगाएभन्दा ठिक विपरीत थिए रवि दाइ। सधैँजस्तो शान्त र हरेक दिन केही नयाँ, केही फरक र केही अर्थपूर्ण काम गर्ने दाइको प्रयास त्यो दिन पनि उस्तै थियो। उसैगरी थियो।

फेरि हाम्रो बौद्धिक भनिने एउटा जमातलाई लाग्नसक्छ, रवि दाइलाई कसैको आश्वासन थियो होला जुन कारण उनी ढुक्क थिए।

तर आम जनताले यो जान्नुपर्छ कि रवि दाइ जसरी आम जनताको मुद्दा हेरिन्छ उहाँको पनि त्यसरी नै हेरिनुपर्छ भन्ने कुरामा अडिग थिए।

मुद्दालाई प्रभाव पार्न गृह मन्त्रालय लियो भन्नेले अब त स्वीकार्नु पर्ला कि उनले आफू सम्बन्धित मुद्दालाई कहीँ पनि प्रभावित पारेनन्। बाँकी रह्यो सरकारी निकायले उनको बचाउमा बहस गरे भन्ने विषय।

त्यो त गर्नु नै पर्‍यो, किनकि हिजो पत्रकार हुँदा, जिल्ला अदालतमा मुद्दा चल्दा, अन्य सरकारी काम गर्दा अहिलेका सबै कुरा थाहा हुँदाहुँदै पनि रवि दाइको नागरिकतालाई सरकारी संयन्त्रले नै मान्यता दिएकै हो, दिएकै थियो। त्यो चाहे निर्वाचन आयोग होस, संचार मन्त्रालय होस्, राहदानी विभाग होस वा अन्य बैंक वित्तिय संस्थामा खाता संचालन गर्दा नै किन नहोस।

पूर्ण रूपमा पारदर्शी हिसाबमा टेलिभिजनबाटै सबैलाई भनेर स्वतः निष्क्रिय हुने चिज स्वतः सक्रिय हुन्छ भन्ने आधारमै रवि दाइ मात्र नभई सम्पूर्ण सरकारी संयन्त्रले काम गरेको हो । यो कुनै फाइदा लिन, कसैलाई हानि पुर्‍याउन वा कुनै बदनियत राखेर गरेको कार्य थिएन भन्ने छर्लङ्ग छ।

यसलाई केही तत्त्वले या त रवि दाइको कामदेखि आत्तिएर हो या त नयाँ राजनीतिक शक्तिको उदयलाई पचाउन नसकेर हो, अनावश्यक रूपमा अतिरञ्जित गरिएको कुरामा आम जनता प्रस्ट नै छन्।

फेरि शुक्रबारकै कुरा गरौँ, रवि दाइ काममै व्यस्त भए पनि हामी भने त्यस दिन अलिक समय पाउने बित्तिकै सबै न्युज साइटहरू रिफ्रेश गरिगरि हेरेर बसेका थियौँ।

हामीमा के होला भन्ने उत्सुकता थियो। रवि दाइ भने जति कामहरू छन् सबै आजै सिध्याउनुपर्छ भनिरहनुभएको थियो। मलाई दाइको कुरा सुन्दा अचम्म लागिरह्यो।

मुलुकको त्यस्तो शक्तिशाली पदमा आसीन मान्छेले आफ्नो पद जान्छ होला भन्दा पनि सेवाग्राहीको काम सकाउन लागिरहनु भएको थियो।

आफ्नो पद जाला, एकछिनपछि के होला भन्ने कुराको चिन्ता हामीले उहाँमा कत्ति पनि देखेनौ। दाइको केही गर्ने हुटहुटी हामी सबैले धेरै लामो समयदेखि देखेका र बुझेका थियौँ।

तर त्यो दिन दाइको एउटा फरक स्वरूप हामीले देख्यौँ। दाइबाट पहिले नै प्रभावित भए पनि, त्यस दिन दाइप्रति मेरो सम्मान अझै उच्च भयो।

न्युज पोर्टलहरुले अब कुनै पनि समयमा फैसला आउन सक्छ भन्दै गर्दा, एक जना वृद्ध बुवा बैतडीबाट गृहमन्त्रीलाई भेट्न आउनुभएको थियो। हामीलेचाही अब दाइलाई एक छिन कसैलाई नभेटाउँ भनेर सल्लाह गर्दै थियौँ। यता हामी सल्लाह गर्दै गर्दा उता दाइले मान्छे आएको कुरा थाहा पाउनुभएछ।

हामीले तीं बुवालाई सम्झाउन खोजिरहेको थियौँ। तर, दाइ त दाइ हो भन्न मन लाग्छ, उहाँ आफै बाहिर आएर तीं बुवालाई भेट्न बोलाउनु भयो।

आफू बसेको कुर्सीबाट उठेर ती बुवालाई सम्बोधन गर्नु भयो। फेरि यो सबै राजनीतिक दलको आश्रयमा हुर्किएकाहरु कतिपयलाई केही नलाग्न सक्छ। तर, यो सबैले थाहाचाहीं पाउनु पर्छ भन्ने लगेर नै लेखेकी हुँ।

ती बुवाको समस्या सुनेर दाइले सम्बन्धित मान्छेलाई समस्या समाधान गर्न लगाउनु भयो। थाहा छैन, ती बुवाको समस्या समाधान भयो कि भएन । कल गरेर फलोअप गर्ने स्थितिमा अब हामी रहेनौँ।

फेरि केहीको प्रश्न होला, यस्ता व्यक्ति विशेषका समस्या समाधान गर्न मन्त्री अगाडि सर्नुपर्छ र ? उहाँहरुलाई एक लाइनको जवाफ ‘हो हजुर ! समस्या समाधान गर्न निर्णायक ठाउँमा बसेको मान्छे नै अघि सर्नुपर्छ ।’

आम जनताले कतै समाधान नपाएको समस्या मन्त्रीलाई जाहेर गर्दा मेरो काम होइन भनेर उम्किने होइन, आफ्नो काम नभए पनि अघि सरेर गर्नुपर्छ।

रवि दाइ मिडियामा हुँदा पनि यसरी नै भुईँ मान्छेका समस्या समाधान गरेको मान्छे हो। आम पत्रकारिता गरेको होइन। त्यो दिन मात्रै होइन, गृह मन्त्रालयमा हरेक दिन यस्तै हुने गर्दथ्यो। मिलेसम्म दिनको एकपटक दाइले सबै समस्या लिएर आउनु भएका मानिससँग भेट गर्नुहुन्थ्यो।

सिंहदरबार छिर्नसम्म आँट नगर्ने धेरैले सहज रूपमा आएर आफ्नो गुनासो र समस्या मन्त्रीसँग राख्न सक्ने वातावरण बन्दै थियो। हामीलाई दाइको निर्देशन थियो, समस्याको समाधान ननिस्किँदासम्म कसैलाई पठाउन पाइने छैन।

हिजो सरकारमा रहेका दलका योभन्दा महत्त्वपूर्ण मुद्दाहरू कसरी र कुन गतिमा हेरियो देखिएकै हो। आम जनता एवं रवि दाइलाई मत दिने चितवन क्षेत्र न २ का मतदाताले यो कुराको सही मूल्यांकन गर्ने नै छन्।

दाइ आफै पनि बेला बेला सेवाग्राहीकैबीचमै भन्ने गर्नुहुन्थ्यो यदि यिनीहरूले गर्न सक्दैनन्, तपाईँहरूका समस्या सुन्दैनन् भने म सचिवालय पनि बदल्छु। हामीलाई पनि स्पष्ट निर्देशन त्यही थियो।

हामी पनि नेताको फेर समातेर, आफै केही गर्न नसकेर  सचिवालय पुगेका थिएनौ। रवि दाइकोजस्तै मुलुक परिवर्तन गर्ने आकांक्षाकै कारण गएका थियौँ। छोटो समयमै रवि दाइ त्यो बाटोमा अगाडि बढिरहनुभएको थियो।

त्यसदिन ती बुवा फर्केको १५, २० मिनेटमै फैसला आयो। दाइ कति पनि विचलित देखिनुहुन्नथ्यो। नियत सफा भएपछि न्याय हुन्छ भन्ने विश्वासमा दाई अडिग हुनुहुन्थ्यो।

दाइले ‘प्रतिभा, जे हुन्छ राम्राका लागि हुन्छ है, नो नीड टु वरी’ भन्नु भयो। दाइ लगायत हामी सबै जना मन्त्रालयबाट निस्क्यौँ।

रवि लामिछानेले सरकारमा रहेर आफ्नो मुद्दालाई कहीँ कतैबाट प्रभाव पारेनन्, मुद्दा फास्ट ट्र्याकबाट लैजान अनुरोध मात्र गरेनन्, सर्वोच्च अदालतको फैसलालाई शिरमा राखेर सोही अनुरूप गरे।

हिजो सरकारमा रहेका दलका योभन्दा महत्त्वपूर्ण मुद्दाहरू कसरी र कुन गतिमा हेरियो देखिएकै हो। आम जनता एवं रवि दाइलाई मत दिने चितवन क्षेत्र न २ का मतदाताले यो कुराको सही मूल्यांकन गर्ने नै छन्।

प्रजातन्त्रमा कुनै दलविशेषका अन्धभक्त कार्यकर्ताभन्दा जनताको मूल्यांकन नै सबैभन्दा महत्त्वपूर्ण र अन्तिम हो।

प्रतिभा रावल रवि लामिछाने